व्याजदर बढ्दा पनि सेयर बजारको यात्रा उकालो

सफल खबर संवाददाता

मंगलबार, ३० कार्तिक २०७८, १७ : ५६
व्याजदर बढ्दा पनि सेयर बजारको यात्रा उकालो

काठमाडौँ । आज मंगलबार पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा १३ वटै उपसमूह उकालो लागेका छ। कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ । 

आज बैंक तथा वित्तीय संस्थाहरुले भोलि (मंसिर १ गते) देखि लागू हुने गरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरूको ब्याजदर बढेको छ । अधिकांश वाणिज्य बैंकहरुको  मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा १०.०५ प्रतिशतसम्म पुगेको छ। ब्याजदर वृद्धिले पनि सेयर बजारमा भने प्रभाव पारेको छैन । बजारमा रौनकता देखिएको छ । दिनहुँ बढ्दो कारोबार रकमले पनि लगानीकर्ताको मनोबल बढेको पुष्टि गर्दछ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा पुगेको छ । नेप्से २.५५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १४।९२ अंकले बढेर ५२१.४६ विन्दुमा पुगेको छ । 

कूल २२७ वटा कम्पनीको एक करोड ९३ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८ सय ५७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ ।

प्रतिक्रिया दिनुहोस