घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा

बुधबार, २० मंसिर २०७४, १० : ३०
घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा

वीरगञ्ज, २० मंसिर । बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

मत खसाल्न जाने मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतादाताले निर्धक्क तथा ढुक्क भएर मतदान गर्न सबै मतदातासँग पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आह्वान गर्नुभएको छ । मतदाता हिँड्ने बाटोभरि नेपाली सेना तथा प्रहरीको मोबाइल गस्ती टोलीले गस्ती गर्ने भएकाले मतदाता सुरक्षित मतदानस्थल पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको विश्वास दिलाउँदै प्रजिअ सिंहले मतदाताको मतदान गर्ने वातावरण बनिसकेकाले उत्साहपूर्र्वक मतदान गर्न आग्रह गर्नुभएको छ ।

शान्तिपूर्ण निर्वाचन गराउनु नै हाम्रो कर्तव्य भएकाले पर्साको सबै मतदान केन्द्रमा आवश्यक हातहतियार र बन्दोबस्तीका सामानसहित सुरक्षाकर्मी परिचालन गरिसकिएको बताइएको छ । मतदान केन्द्रमा नेपाल प्रहरी, त्यसभन्दा बाहिर सशस्त्र प्रहरी र नेपाली सेना रहने गरी तीन घेरामा निर्वाचन सुरक्षा व्यवस्था मिलाइएको भन्दै प्रजिअ सिंहले भन्नुभयो, “मतदानस्थल मतदातालाई कुनै प्रकारको असुरक्षा नहोस् भनेर सबै ठाउँमा सुरक्षाकर्मीलाई उच्च सर्तकतामा राखिएको बताउनुभयो ।

मतदानस्थल र वरिपरि कुनै पनि अवरोध एवं अवाञ्छित गतिविधि हुन नदिन व्यापकरुपमा सशस्त्र प्रहरीको उपस्थित बाक्लो बनाइएको भन्दै मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले मतदाता हिँड्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाता निर्धक्क भएर मतदान गर्नेछन् । निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न पर्सामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी तथा नेपाली सेना गरी करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

पर्सा जिल्लामा रहेको १६७ मतदानस्थलमध्ये ७३ वटा मतदानस्थल अतिसंवेदनशील भएकाले त्यस्ता मतदानस्थलमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय सीमासँग जोडिएको कतिपय मतदानस्थलमा सुरक्षा चुनौती भए पनि त्यहाँ सुरक्षा व्यवस्था अति नै कडा पारिएकाले मतदाता सुरक्षित मतदान गर्ने वातावरण बनाइएको सुरक्षा अधिकारीको भनाइ छ ।

सीमावर्ती भारतसँग जोडिएको पर्सा जिल्लाको १०७ किमीमा पर्ने करिब दुई दर्जन सानोठूलो नाका भएकाले ती नाकाबाट आपराधिक प्रवृत्तिका व्यक्तिको प्रवेश हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी सो नाकामा भारतीय तथा नेपाली सुरक्षाकर्मीले विशेष निगरानी राखेको जनाइएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको पर्सा जिल्लामा दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भोलि बिहीबार विहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानका लागि मतदानस्थल र मतदाता हिँड्ने बाटोभरि सुरक्षा व्यवस्था अति कडा पारिएकाले आफ्नो अमूल्य मत खसाल्न पर्साका मतदाता आतुर रहेका छन् । मतदाता भन्छन्, “स्थानीय प्रशासनले यति ठूलो सुरक्षा व्यवस्था गरेकाले हामीहरु निर्धक्क भएर भोलि आफ्नो मताधिकारको प्रयोग गर्नेछौँ ।”(रासस)

 

प्रतिक्रिया दिनुहोस