रक्षक नै भक्षक

प्रहरीले एसिड खन्याएपछि घाइते भएकी कल्पनाको उपचार हुँदै

सोमबार, १० बैशाख २०७५, १४ : २९
प्रहरीले एसिड खन्याएपछि घाइते भएकी कल्पनाको उपचार हुँदै

प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाले आइतबार दिउँसो तेजाव छर्किएपछि घाईते भई भरतपुर अस्पतालमा उपचार गरिरहेकी गोरखा घर भएकी भरतपुरको त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठ । तस्वीर : रासस

चितवन । रत्ननगरमा कार्यरत ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाले एसिड छर्किएपछि घाइते भएकी कल्पना श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी नायब निरीक्षक खनियाले हिजो आइतबार दिउँसो तीन बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ४, त्रिचोकमा कल्पनामाथि एसिड छर्किएका थिए । गोर्खा घर भई त्रिचोकमा डेरा गरी बस्ने २८ वर्षीया श्रेष्ठलाई खनियाले एसिड छर्किएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार श्रेष्ठको अनुहार र खुट्टामा एसिड परेको छ । घाइते श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता ढकालले बताउनु भयो । घटना भए लगत्तै खनियालाई पक्राउ गरी प्रहरीको हिरासतमा राखिएको छ । एसिड प्रहारबाट घाइते श्रेष्ठका श्रीमान नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भएपनि एसिड छर्कनुको कारण भने अहिलेसम्म खुल्न नसकेको ढकालले बताउनु भयो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस