प्रमोद धिताल
एकथरी मानिसहरू साहित्यमा राजनीति हुन्छ भन्ने कुरालाई ठाडै अस्वीकार गर्छन् । उनीहरू साहित्यमार्फत् समाज परिवर्तन गर्छु भन्नुलाई मुर्खता ठान्छन् । के उनीहरूले भनेजस्तो साहित्यमा राजनीति हुँदैन ? या साहित्य भनेको त्यति निष्प्रयोजन, निरीह र मन बहलाउनको लागि सबैभन्दा तल्लो दर्जाको साधन हो ? यदि यसमा पर्याप्त बहस गरिएन भने साहित्यको जीवन र समाजमुखी महान प्रयोजनलाई विद्रुपीकरण गरिरहेका उनीहरूको प्रभावले साहित्यको राम्रो बीज निहित रहेको नयाँ पुस्ताको एकजना मान्छे पनि प्रभावित हुनु समाजको लागि ठूलो घाटा साबित हुनसक्छ । किनकि साहित्य फगत कला हो अरु केही होइन भन्ने तर्क्भित्रै भयानक राजनीति छ ।
साहित्य (असल साहित्य) को सबैभन्दा ठूलो शक्ति त त्यसैमा निहित छ, जसले मानिसको मानसमाथि चोट पुर्याउँछ र विष्फोट पैदा गर्छ । यदि त्यो विष्फोटले मानिसलाई जीवन र जगतका लागि केही नयाँ गर्न उत्प्रेरित गर्यो भने साहित्यको क्रान्तिकारी कार्य त्योभन्दा अर्को हुन सक्दैन । कुनै बेला भूपि शेरचनका कविताहरू पढेर क्रान्तकारी भएकाहरू, मोदनाथ प्रश्रितका ‘देबासुर संग्राम’, ‘गोलघरको सन्देश’ पढेर परिवर्तनको पक्षमा उभिनेहरू, म्याक्सिम गोर्कीको ‘आमा’ पढेर कम्युनिस्ट बन्नेहरू, पारिजातको ‘अनिँदो पहाडसँगै’, आहूतिको ‘नयाँ घर’ पढेर समाज परिवर्तनको अभियानमा जोडिनेहरूको आत्मबयानलाई सुन्नेहरूले सहजै अनुमान गर्न सक्छन्, साहित्यमा हुने दमको तुलना अन्य कुरासँग गर्न मिल्दैन ।
यो दुनियाँमा हरेक कुराको आफ्नै विशिष्ट महत्व छ । साहित्यको हकमा पनि त्यही कुरा लागू हुन्छ । साहित्यको महत्वलाई मनोरञ्जन या आनन्दसँग मात्र तुलना गर्नेहरूले यो कुरा पनि बुझ्नुपर्छ कि मनोरञ्जन या आनन्दको स्रोत के हो ? के त्यो जीवन या समाज निरपेक्ष हुन्छ ? साहित्यमा कि आशावाद हुन्छ कि निराशावाद । कि कुण्ठा हुन्छ कि उमंग । कि यथार्थको वैज्ञानिक चित्रण हुन्छ कि भ्रष्टीकरण । कि बहुसंख्यक मानिसहरूको रोदन, आँसु, संघर्ष र खुशीको सिर्जनात्मक पुनरुत्पादन हुन्छ । जीवनका विसंगति, कुरूपता, दासता अनि स्वतन्त्रताका बाधकहरूसँग संघर्षको हुटहुटी हुन्छ कि त अघाएकाहरूको आत्मरति । साहित्यमा यस्तो कुनै चिज हुँदैन, जो जीवनभन्दा पर होस्, जो लेखकको जीवन र जगतलाई हेर्ने दृष्टिकोणबाट मुक्त होस् । जहाँसम्म लेखनमा पक्षधरताको कुरा छ, त्यो सिधै दृष्टिकोणसँग पक्षधरताको कुरा हो । मानिसको जीवन र जगत सम्बन्धमा बुझाइ र भूमिकाको समेत चयनको कुरा हो । फरक यत्ति हो कि तपाईं जीवनको प्रयोजनको पक्षमा कि जीवनको निष्प्रयोजनको पक्षमा ? यदि तपाईं जीवनलाई नै सामाजिक गतिविधिको निम्ति प्रयोजनहीन ठान्नुहुन्छ भने स्वाभाविक छ– साहित्य पनि त्यस्तै लेख्नुहुन्छ र मन पराउनुहुन्छ । म जीवनको प्रयोजनलाई त स्वीकार्छु तर साहित्यको प्रयोजनलाई स्वीकार्दिनँ भन्नुहुन्छ भने तपाईंलाई न जीवनको पक्षमा भनेर स्वीकार्न सकिन्छ न साहित्य बुझेको भनेर । जब तपाईंको निम्ति जीवनकै प्रयोजन छैन भने तपाईंको निम्ति साहित्यको प्रयोजन किन ? त्यस्तो व्यक्तिले लेख्ने साहित्यले समाजलाई कुण्ठा, हीनताबोध, निराशा र मृत्युभन्दा अरु दिन सक्छ ? त्यसैले हामी भन्न सक्छौं कि जसरी दुनियाँमा जीवनको प्रयोजन र मूल्यसँग तुलना गर्नलायकको अर्को कुनै कुरा छैन, त्यसरी नै साहित्यको मूल्य र प्रयोजनसँग तुलना गर्न मिल्ने पनि अर्को कुनै कुरा छैन ।
साहित्यमा पनि कुरूपता र सुन्दरता हुन्छ । साहित्यमा पनि पक्षधरता हुन्छ अनि हुन्छ राजनीति । समाज कुरूप र सुन्दर दुबैमा विभाजित भएझैं साहित्यमा पनि कुरूपता र सुन्दरता दुवै भेटिन्छ । साहित्य विशुद्ध कलाबाहेक अरु केही होइन भन्नुजत्तिको भयानक राजनीति अरु केही होइन । कला भएरै साहित्य ‘साहित्य’ हुन्छ । तर साहित्य कलात्मक राजनीति हो । त्यसमार्फत् कुरूपता र सुन्दरता अग्रगामी र यथास्थितिवादी, जीवनशील र मरणशीलताको पक्षमा राजनीति हुन्छ र गरिन्छ ।
पारिजातले घोर निराशाले डोरिएको बेलामा ‘शिरीषको फूल’ लेखिन् । कलात्मक हिसाबले मात्रै हेर्दा त्यो उत्कृष्टताको कोटीमा पनि पर्ला । तर, त्यसले के दियो ? ठूलो कुरा त्यो हो । विष त विष नै हो, चाहे त्यो जतिसुकै सु–स्वादिलो किन नहोस् । उनी आफैंले पछि गएर ‘शिरीषको फूल’को शून्यवादी सारलाई इन्कार गरिन् र जनपक्षीय र आशावादी साहित्य सिर्जना गरिन् । ‘शिरीषको फूल’ लेख्ने पारिजातले ‘अनिँदो पहाडसँगै’ जस्ता कृतिहरू लेख्नु जीवनलाई हेर्ने उनको दृष्टिकोणमा आएको परिवर्तनको उपज हो । ती कृतिलाई अवमूल्यन गर्दै कलावादीहरू ‘शिरीषको फूल’लाई नै बोकेर किन हिँड्छन् ? किनभने त्यसमा जीवनको निस्सारता छ । ‘शिरीषको फूल’जस्ता कृतिहरूमा आनन्द देख्नु तर ‘अनिँदो पहाडसँगै’लाई महत्व नदिनु जीवनको निस्सारतालाई सही ठान्नु हो । यदि पारिजातले जीवनको अन्तिम कालखण्डसम्म पनि ‘शिरीषको फूल’कै आदर्शमा अडिएर साहित्य सिर्जना गरेको भए जीवनको शून्यवादमा आनन्द देख्नेहरूको आदर्श त बन्थिन् तर अन्ततः उनीबाट समाजले के पाउँथ्यो ? सोच्नुपर्ने कुरा यो हो । हामीले ‘शिरीषको फूल’मा जतिसुकै कला देखौं– आखिर त्यसले बाँडेको त जीवनको अर्थहीनता हो, निस्सारता अनि प्रयोजनहीनता हो । उनका पछिल्ला कृतिहरूलाई कलावादीहरूले जतिसुकै नारा देखून्, ती कृतिहरूमार्फत् पारिजातले बाँडेको जीवनको प्रयोजन हो, आशावादिता हो । त्यसैले ती कृतिहरू रुपान्तरणको पक्षमा ऊर्जा हुन् ।
राजनीति या राजनीतिक क्रान्तिले गर्ने काम साहित्यले गर्न सक्दैन । तर, केही यस्ता कार्यहरू छन्, जो साहित्यले मात्र गर्न सक्छ, जुन काम राजनीतिले पनि गर्न सक्दैन । रसियन साहित्यको इतिहासमा जुन काम गोर्कीले गरे, त्यो काम कुनै पनि हालतमा लेनिनबाट सम्भव थिएन । अनि जुन काम लेनिनबाट सम्भव भयो, त्यो काम गोर्कीबाट पनि सम्भव थिएन । गोर्कीको साहित्यले रसियाको धर्तीमा मात्र होइन, विश्वभरिका चेतनशील क्रान्तिकारीहरूको मानसिकतामा क्रान्तिकारी ऊर्जा भर्ने विशिष्ट कार्य गर्यो । के त्यो आफैंमा एउटा क्रान्ति होइन ? समाजमा क्रान्ति घटित हुनुको एउटा महत्वपूर्ण कारक तत्व मानिसहरूको दिमागमा हुने क्रान्ति हो । दिमागमा क्रान्ति ल्याउन नसक्नेले बाहिर क्रान्ति गर्न सक्दैन । तसर्थ एउटा असल साहित्यको महान कार्य भनेकै मानिसको दिमागमा क्रान्ति ल्याउन सक्नु हो । दिमागमा क्रान्ति पैदा गर्न नसक्ने साहित्य असल साहित्यको कोटीमा पर्न सक्दैन ।
हो– मानिसको जीवन सधैं एकनासले चल्दैन । सधैं आशै आशा मात्र पनि हुँदैन । न सधैं निराशाको घर मात्र बनेर बाँच्छ मानिस । आशा–निराशा, सफलता–असफलता, आँसु–हाँसो, मिलन–बिछोडजस्ता कुराहरू जीवनका घाम– पानी, बसन्त–शिशिर हुन् । जीवनलाई अनुभूतिहरूले समृद्ध बनाउने अमूल्य खजाना पनि हुन् । यो प्रकृतिदेखि लिएर समाजको नियमभित्रै पर्ने कुरा हो । तिनीहरूलाई कसरी प्रस्तुत गर्ने ? साहित्यमा त्यो झन् महत्वपूर्ण कुरा हो । निराशाको क्षणमा लेखकले थप निराशा बाँड्ने या निराशा पनि अस्थायी कुरा हो भनेर त्यसविरुद्ध संघर्ष गर्न प्रेरित गर्ने ? निरासा, कुण्ठा, अवसाद, विफलता, पाखण्ड अनि जीवन र समाजका तमाम विद्रुपताहरूको हामीले कलात्मक चित्रण गर्न जरुरी छ तर ती हाम्रा अन्तिम आदर्श होइनन् । हाम्रो अन्तिम आदर्श त फेरि पनि मृत्युमाथिको विजय हो । निराशा र समाजमा विद्यमान हजारौं विद्रुपता र पाखण्डहरूमाथिको विजय हो । सुन्दरताको स्थापना हो । त्यो सुन्दरता मुठ्ठीभरहरूको होइन आँसु र पसिनाले भिजेका बहुसंख्यक मानिसहरूको हितसँग जोडिएको हुनुपर्छ । हाम्रो साहित्य त्यही आदर्शको स्थापनातर्फ गतिशील हुनुपर्छ । साहित्य, कला र विज्ञानको सकारात्मक ध्येय भनेको जीवन र जगतलाई थप गहिराइबाट ब्याख्या गर्नु, बुझ्नु र बदल्न प्रेरित गर्नु हो । थप सुन्दर बनाउनु हो । न कि कलावादी सत्ताको आवरणमा कुरूपताको पक्षपोषण गर्नु ।
आजको नयाँ पुस्ता जो साहित्यको प्रगतिशील मूल्यको स्थापनामा विश्वास गर्छ, उसले यो कुराको पक्षमा दह्रोसँग उभिन जरुरी छ, जो गुणात्मक रूपमा कमजोर नहोस्, थप मजबुत हुँदै जाओस् । हाम्रो प्रयत्न त्यता केन्द्रित हुनुपर्छ । तर, एउटा बिजोगपूर्ण अवस्था देखिन्छ यतिखेर । एकथरी साहित्यलाई विवेकको सिर्जनाभन्दा कारखानाको कमोडिटी साबित गर्ने ध्याउन्नमा छन् । अर्को्तिर आफूलाई प्रगतिशील भन्न रुचाउनेहरूको एउटा जमात नै कमोडिटीका मालिकहरूलाई खुलेआम साहित्यको आदर्श घोषणा गर्दै गुरुभेटी चढाइरहेका छन् । साहित्यको जीवनोपयोगी राजनीतिमाथि शून्यवादी÷कलावादीहरूबाट जति खतरा छ, त्योभन्दा धेरै खतरा छ प्रगतिशीलरप्रगतिवादी मुखौटाहरूबाट ।
शून्यवादीहरू भ्रम होइन, सिधै शून्यता पस्किन्छन् । तर, मुखौटाहरू भने भ्रम पस्किन्छन्, जुन धेरै घातक हुन्छ । तर, त्यो पनि अन्ततः अस्थायी र मरणशील हुन्छ । खुट्टा प्रगतिशील कित्तामा अनि सिंगै टाउको भने शून्यवादी कित्तामा समर्पण गर्नेहरूको साहित्यिक साधनाले कालान्तरमा समाजले के पाउला ? त्यो हेर्न भने केही समय पर्खनुपर्छ । हिँड्ने खुट्टाले हो तर खुट्टालाई हिँडाउने त फेरि टाउकाले नै हो । कलावादी शिविरभित्र बन्ध्याकरण भएको टाउकाले कसरी खुट्टाहरूलाई प्रगतिशील दिशातिर डोर्याउन सक्छ ? यो असम्भव कुरा हो । यसको सीधा अर्थ हो, हामी जो आफूलाई प्रगतिशीलरप्रगतिवादी भनि टोपल्छौं, त्यो त्यसप्रतिको भावनात्मक झुकावमात्र हो, बाँकी हामीले त्यसतर्फ रुपान्तरण गर्न धेरै बाँकी छ । ओठेभक्ति प्रगतिशीलतारप्रगतिवादलाई देखाउनु तर मलजल शून्यवादलाई गर्नुले के देखाउँछ भने आत्मरुपान्तरण र आत्मसंघर्षको हामीकहाँ ठूलो खडेरी परेको छ । एक त समाज रुपान्तरणकारी आन्दोलन रक्षात्मक बन्दै गएको अवस्था छ, त्यसको प्रत्यक्षरपरोक्ष असर सबैतिर पर्ने नै भयो । त्यसमा पनि प्रगतिशीलरप्रगतिवादी खेमाभित्रको वर्तमानको आत्मसंघर्षमा देखिएको अभावले शून्यवादी एवं कलावादी ऐंजेरुको संक्रमणका लक्षणहरू पनि प्रशस्त देखिएका छन् । तसर्थ यो खेमाभित्र सचेत आत्मसंघर्ष र वैचारिक अन्तसंघर्ष चलाउनुपर्ने आवश्यकता धेरै छ । तर, पनि अग्रगामी चेतनाले ओतप्रोत साहित्यिक लेखन र पठनको अवस्था त्यति कमजोर नै छ भन्न मिल्ने अवस्था भने छैन । कलावादीहरू ‘नीलो चोली’का नयाँ संस्करणहरूको निरन्तरतासँगै बजारको रंगीन विज्ञापनमा जतिसुकै डङ्का पिट्दै जाऊन्, उनीहरूको हविगत पानीको फोका साबित भइरहेछ । अनि साहित्यमा राजनीति र क्रान्तिकारी ऊर्जा नदेख्नेहरूले ‘शिरीषको फूल’को कोटीमा पर्ने साहित्यलाई जतिसुकै उच्चकोटिमा राख्ने प्रयास गरून्, साहित्य सर्जक अनि पाठकहरूको ठूलो जमात ‘अनिँदो पहाडसँगै’ जाग्राम बसिरहेछ । लेखनमा नयाँ ऊर्जा र आवेगसहित नयाँ पुस्ता शोषणका नयाँ रूपहरूको अनावरण गर्न क्रियाशील देखिन्छ, जुन आउँदा दिनहरूको लागि शुभसंकेत हो ।
प्रतिक्रिया दिनुहोस