संखुवासभा सामूहिक हत्या प्रकरणमा मुख्य आरोपीका भाइ पक्राउ

सफल खबर संवाददाता

विहीबार, ३१ भदौ २०७८, ०९ : ३७
संखुवासभा सामूहिक हत्या प्रकरणमा मुख्य आरोपीका भाइ पक्राउ

काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा  मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नरेशलाई इलाका प्रहरी कार्यालय चैनपुरले पक्राउ गरेको हो । 

सामूहिक हत्यामा ज्यान गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि प्रहरीले लोकबहादुरका भाइ नरेशलाई पक्राउ गरेको हो । नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका छ । लोकबहादुरले ६ जनाको हत्या गर्दा भाइ नरेश पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ । 

संखुवासभाको मादीमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।

अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान लोकबहादुरले दिएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस