सुजिता भण्डारी मृत्यु प्रकरण : भिसेरा रिपोर्ट आयो, विष सेवनले मृत्यु हुन सक्ने सम्भावना

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १३ : १०
सुजिता भण्डारी मृत्यु प्रकरण : भिसेरा रिपोर्ट आयो, विष सेवनले मृत्यु हुन सक्ने सम्भावना

चितवन । राप्ती नगरपालिका–३ झुरझुरेकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारणबारे पत्ता लगाउन गरिएको भिसेरा परीक्षण रिपोर्ट प्रयोगशालाले दिएको छ । असार २३ गते परीक्षणका लागि नमुना दिइएकोमा गत हप्तामात्रै रिपोर्ट आएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ शिक्षण अस्पतालमा गरिएको पोस्ट–मार्टम रिपोर्टबाट कारण नखुलेपछि थप कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिएको थियो । रिपोर्टमा उल्लेख भएअनुसार मृत्युको कारणका सम्बन्धमा भनिएको छ, ‘भण्डारीको मृत्यु विषादीकै सेवनबाट भएको हुन सक्ने प्रबल सम्भावना रहेको हाम्रो राय छ ।’ फरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा। गोपालकुमार चौधरी, उपप्राध्यापक डा। युजिन डोल्मा र उपप्राध्यापक मणिराज महर्जनले मृत्युको तीनवटा कारणहरुबारे उल्लेख गरेका छन् ।

आफैँले आफैँमा गराइएका चोटहरु मृतकको शरीरमा भएको, उक्त चोटहरु देब्रे हात तथा दाहिने खुट्टामा रहेको र यी चोटहरु सामान्यतया आत्महत्या गर्ने नियत भएका व्यक्तिमा पाइने चोटहरु हुन् भनी कारणमा खुलाइएको छ । शरीरका कुनै पनि अङ्गमा चोटहरु तथा मृत्यु गराउने रोगहरुका कुनै पनि लक्षणहरु छैनन् भनी उल्लेख गरिएको छ ।

घटनास्थलबाट बरामद बोतल परीक्षणका क्रममा भेटिएको विषादी जसको सेवनपछि शरीरमा परिवर्तितरुपमा परिणत भई छोटो समयमा नै विलय हुने र दि कम्पोजिनले समेत शरीरमा भएको विषादीलाई ह्रास गर्ने भएकाले भिसेरा परीक्षणमा विषादी नदेखिएको रिपोर्टमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस