रवीन्द्रनाथ टैगोर
अनुवाद जीवन क्षेत्री
हामी दुईको गाउँ एउटै,
हाम्रो साझा आनन्द एउटै।
पहेंलचरी जब रुखमा गाउँछिन्,
खुशीले नाच्छ मेरो मुटु।
उनका स्निग्ध भेडाका पाठा,
आउँछन् मेरो पीपलमुनि चर्न।
तिनी जब मेरो जौबारीमा छिर्छन्
म तिनलाई काखमा लिएर सुम्सुम्याउँछु।
मेरो गाउँ हो खञ्जना,
नदीलाई भन्छन् अन्जना
मेरो नाउँ सारा गाउँलाई थाहा छ,
उनको नाउँ हो रञ्जना।
हामीबीच खाली एउटा फाँट छ
मेरो घारका मौरी उनको फुलबारीमा चर्छन्
उनको गमलाका फूल तैरिंदै
आउँछन् हामी नुहाउने खोलासम्म
डोको भरि भरि कुसुमका फुलहरु
उनको खेतदेखि आउँछन् हाम्रो बजारसम्म
मेरो गाउँ हो खञ्जना,
नदीलाई भन्छन् अन्जना
मेरो नाउँ सारा गाउँलाई थाहा छ,
उनको नाउँ हो रञ्जना।
उनको घर जाने गोरेटो
वसन्तमा मग्मगाउँछ आँपका फुलले
जब उनको खेतमा अलसी पाक्छ,
मेरो खेतमा भाँगो झुलिरहेको हुन्छ
जुन तारा उनको झुप्रोमा टल्किन्छन्,
तिनैको टलक आइपुग्छ मेरो घरमा पनि
जुन वर्षाले उनको पाखो भिजाउँछ,
त्यसैले हाम्रो कदमको जंगललाई मख्ख पार्छ
मेरो गाउँ हो खञ्जना,
नदीलाई भन्छन् अन्जना
मेरो नाउँ सारा गाउँलाई थाहा छ,
उनको नाउँ हो रञ्जना।
प्रतिक्रिया दिनुहोस