दार्चुलामा तुइन काटिएको घटनामा देउवा सरकार लाचार : एमाले

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, १८ : ०६
दार्चुलामा तुइन काटिएको घटनामा देउवा सरकार लाचार : एमाले

काठमाडौँ । नेकपा एमालेले महाकाली नदी पार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटेको घटनामा शेरबहादुर देउवा नेतृत्वको सरकार लाचार भएको आरोप लगाएको छ ।  एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर आफ्ना नागरिकको अन्यायपूर्वक ज्यान लिएको घटनाप्रति चुइक्क बोल्न नसक्ने देउवा नेतृत्वको सरकार लाचार भएको बताए । 

एमालेले उक्त घटनालाई थामथुम पारेर अन्यत्रै ध्यान मोड्ने कोशिस गरिएको पनि जनाएको छ। गत साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिनाभन्दा बढी समय भएको छ । एमालेले अस्पष्ट प्रतिवेदन बनाएर सरकारले घटना थामथुम पार्ने काम गरेको बताएको छ । 

‘नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति एमाले खेद व्यक्त गर्छु, विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले यस घटनाको अविलम्ब सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ।’ 

प्रतिक्रिया दिनुहोस