माओवादी केन्द्रलाई देशको सबैभन्दा ठूलो दल बनाउने वाईसीएलको प्रतिवद्धता

सफल खबर संवाददाता

सोमबार, १४ भदौ २०७८, १६ : ०२
माओवादी केन्द्रलाई देशको सबैभन्दा ठूलो दल बनाउने वाईसीएलको प्रतिवद्धता

काठमाडौं । वाईसीएल, नेपालका नेता तथा कार्यकर्ताले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका उनीहरूले युवाहरूलाई परिचालन गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन् । सोही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउनुपर्ने वाईसीयलका नेता तथा कार्यकर्ताको पार्टी नेतृत्वसँग माग छ ।

आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने गरी युवाहरूलाई परिचालन गरेर अघि बढ्ने योजनासहित आफूहरू परिचालित हुने वाईसीएल नेपाल भक्तपुरका संयोजक नरेश वाईबाले बताए। उनले त्यसका लागि देशभरका युवाहरूलाई परिचालन गरेर जनतामाझ जान सक्ने नेतृत्वको आवश्यकता रहेको औंल्याए ।

सिन्धुपाल्चोकका वाईसीएल संयोजक रुपेन्द्र आचार्यले आगामी निर्वाचनमा देशको पहिलो राजनीतिक पार्टी माओवादी केन्द्रलाई बनाउने गरी आफ्नो संगठनलाई सशक्त बनाएर अघि बढ्ने बताए । उनले त्यसका लागि वाईसीएल नेपालले मुलुकभर राजनीतिक पहुँच वृद्धि गरेर अघि बढनुपर्ने भएकाले सोही अनुसारको नेतृत्व बनाउनुपर्नेमा जोड दिए ।

उता, मकवानपुरकी जिल्ला संयोजक अनु लामाले युवाहरूलाई सक्षम र दक्ष बनाएर माओवादी केन्द्रलाई मुलुकको पहिलो पार्टी बनाउन वाईसीएल नेपालले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले युवाहरूको परिचालन गरेर मात्रै माओवादी केन्द्रलाई सबल पार्टी बनाउन सकिने तर्क पनि गरे ।

वाईसीएल नेपालले जारी राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाईसीएल, नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस