निरन्तरको वर्षाले बेनीमा दुई घर भत्किए

सफल खबर संवाददाता

सोमबार, १४ भदौ २०७८, १५ : ५१
निरन्तरको वर्षाले बेनीमा दुई घर भत्किए

म्याग्दी । केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन्। बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ६ नेपानेमा एक–एक घर भत्किएका हुन्। रत्नेचौरका प्रितिबहादुर खत्री (सापकोटा) र नेपानेका प्रेम नेपालीको ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अत्याधिक वर्षाका कारण पर्खाल भत्किएर घरमा क्षति पुगेर बस्न नमिल्ने भएको छ। मानवीय क्षति भने भएको छैन। दुबै परिवारका सदस्यलाई छिमेकमा रहेको आफन्तको घरमा बसोबासको ब्यवस्था मिलाएर सामान सारिएको छ।

नेपानेका नारायण पौडेलले आइतबार राति घर भत्किएपछि प्रेमका पाँच जनाको परिवारलाई मनबहादुर दमाइँको घरमा सारिएको बताए।भत्किएको पर्खाललाई त्रिपालले छोपिएको र वर्षा रोकिने बित्तिकै स्थानीयवासीले श्रमदान गरेर मर्मत गर्ने सल्लाह भएको पौडेलले बताए।

वर्षासँगैको पहिरो खसेर म्याग्दीको ‘लाइफलाइन’ मानिएका बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध भएका छन्। पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पस्दा आज बिहान ८ घरमा क्षति र भाग्ने क्रममा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा तीन जनाको मृत्यु, १० जना घाइते र १३४ घरमा पूर्ण क्षति भएको छ। प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले पहिरो, बाढी र कटानले घरमा क्षति पुग्दा एक हजार ४०० जना घरबासविहीन भएका छन्।

त्यस्तै १३ घरमा आंशिक, १६२ घर उच्च जोखिम र ४३ घर जोखिममा परेका छन्। दुई वटा गोठमा आंशिक, २ वटामा पूर्ण क्षति र १७४ वटा पशुचौपाया मरेका छन्। बेनी नगरपालिका, मालिका र अन्नपूर्ण गाउँपालिकाका एक/एक वटा विद्यालय भवनमा क्षति पुगेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले बेनीसहित, दरबाङ, बाबियाचौर, सिञ्गा तातोपानी, भुरुङ–तातोपानी, राहुघाट, गलेश्वर क्षेत्रलाई बाढी र कटानको जोखिम क्षेत्रमा राखेको छ।

अन्नपूर्ण गाउँपालिकाको धस्केखोरीया, बेनी नगरपालिकाको मसार, दूधेखोला मालिकाको रुम, धवलागिरिको लुलाङलगायतका ठाउँमा बाढीपहिरोको जोखिम छ।

प्रतिक्रिया दिनुहोस