वाईसीएलको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा

रासस

विहीबार, १० भदौ २०७८, १७ : ११
वाईसीएलको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ष्ट लिग (वाइसीएल)ले भदौ १२ र १३ गते गर्ने तय भएको राष्ट्रिय भेलाको सबै तयारी पुरा भएको जनाएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी वाइसीएलले राष्ट्रिय भेलारे जानकारी दिएको हो । 

‘‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौं ! सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौं !!’ भन्ने मूलनाराका साथ हुन लागेको भेलाको सबै तयारी पूरा भएको वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ जानकारी दिए । उनले संगठनको आन्तरिक जीवनका दृष्टिले मात्र नभएर सिंगो परिवर्तनकारी युवा आन्दोलनका दृष्टिले समेत भेला ऐतिहासिक हुने विश्वास व्यक्त गरे । 

६४७ जना प्रतिनिधि एवं पर्यवेक्षकहरूको सहभागितामा रहने भेलाको उद्घाटन सत्रलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्वोधन गर्नेछन् । यस्तै भेला कोरोनाका कारण भर्चुअल माध्यमबाट गरिनेछ । 

सापकोटाका अनुसार भेलामा उद्घाटन र बन्द सत्र गरी दुई सत्र रहनेछन् । उद्घाटन सत्रमा अतिथिहरूले भेलाको सफलताको शुभेच्छा व्यक्त गर्नेछन् भने बन्द सत्रमा संगठनको विगतको समीक्षा, वर्तमानको अवस्था र भविष्यको कार्यदिशा एवं कार्ययोजनाबारे गम्भीर बहस गरी ठोस कार्यदिशाको संश्लेषणमा पुगिनेछ ।

भेलामा संगठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको निर्वाचन लगायतका एजेण्डामा गहन छलफल हुने छ भने छलफललाई प्रविधिमैत्री र सबैको अभिमतको प्रतिनिधित्व हुने व्यवस्था गरिने सापकोटाले जानकारी दिए । उक्त छलफलबाट प्राप्त सुझावका आधारमा कार्यदिशाको संश्लेषण र संगठनमा नयाँ कमिटीको निर्वाचन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस