सांसदद्वयमाथि एमालेले गरेको कारवाहीलाई लुम्बिनी प्रदेशसभा सचिवालयले ‘अमान्य’ ठहर गर्दै पठायो पत्र, भन्छ- ‘पदमुक्त गर्ने कुनै आधार छैन’ (पत्रसहित)

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, १४ : ४९
सांसदद्वयमाथि एमालेले गरेको कारवाहीलाई लुम्बिनी प्रदेशसभा सचिवालयले ‘अमान्य’ ठहर गर्दै पठायो पत्र, भन्छ- ‘पदमुक्त गर्ने कुनै आधार छैन’ (पत्रसहित)

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा दुई सांसदमाथि एमालेले गरेको कारवाहीलाई प्रदेशसभा सचिवालयले ‘अमान्य’ ठहर गरेको छ । सचिवालयका तर्फबाट नेकपा एमालेलाई पत्र पठाउँदै सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि एमालेले गरेको कारवाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने प्रस्ट पारिएको छ । सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।

एमालेले प्रदेश सरकारमा सहभागी अजय शाही र उपनिर्वाचनबाट प्रदेशसभा सदस्यमा विजयी विमला खत्री वलीलाई पार्टीले कारवाही गरेको विवरणसहित सो बमोजिम उनीहरुलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो ।

आफूले पत्र पठाएर कारबाहीसम्बन्धी विवरण जानकारी गराए पनि उनीहरुलाई पदमुक्त गरेको सूचना प्रदेशसभा बैठकमा सभामुखले जानकारी नगराएको भन्दै एमालेले दुई दिनसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।

प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रुपमा समावेश गरेको भए पनि उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफु एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ ।

पत्रमा सांसद विमला वलीको हकमा एमाले र माओवादी केन्द्र दुवैले अनुसूची ७ को फारममा आफ्नो सदस्य रहेको विवरण लेखेका छन् भने अजय शाहीको हकमा भने एमालेले आफ्नो सदस्य रहेको विवरण सचिवालयमा बुझाएको थियो ।

सचिवालयले एमालेलाई पठाएको जवाफी पत्रमा अजय शाही निर्वाचनमा स्वतन्त्र समूहबाट सहभागी भएको र उनको व्यक्तिगत विवरणमा पनि स्वतन्त्र समूहको तर्फबाट प्रदेशसभा सदस्य रहेको उल्लेख भएको कारण उनलाई पदमुक्त गर्न नमिल्ने उल्लेख छ ।

शाहीले निर्वाचनमा सहभागी हुँदा नै स्वतन्त्र पहिचान कायम हुने गरी सूर्य चिन्ह प्रयोग गर्ने गरी सम्झौता गरेको यसअघि पत्रकार सम्मेलनमार्फत जनाएका छन् । दाङबाट उपनिर्वाचनमार्फत विजयी विमला वलीले फागुन २३ गते सर्वोच्चको फैसलापछि आफु कुनै दलको संसदीय दलमा सहभागी नभएको दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस