वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, १२ : ३०
वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । मस्तिष्कघात भएपछि प्रगतिशील गायक जुठबहादुर खड्गी जेबी टुहुरेको स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो ।

मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. सामर्थ सिंहले बताए । टुुहुरेको उपचारमा सम्भव सबै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन नसकिरहेको उनले बताए ।

टुहुरेलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अस्पताल पुगेर उनको स्वास्थ्य स्थिति बुझेका थिए । उनले टुहुरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्न सरकारलाई आग्रह गर्ने बताएका थिए ।

अस्पतालमा टुहुरेलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत पुगेका छन् ।

टुहुरेको उपचारमा अहिले डा. सामर्थ सिंह, डा.विश्वकुमार श्रेष्ठ, डा. पावनबहादुर भण्डारी, डा.प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न छ । २० को दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनको बहुचर्चित गीत हो ।

सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।

प्रतिक्रिया दिनुहोस