नवलपुर । सामान्य अवस्था भएको भए विभिन्न कार्यक्रम र पाहुनाले व्यस्त हुने यहाँको घरबास अहिले सुनसान छन् । पाहुनाको स्वागत र सत्कारमा व्यस्त हुने सञ्चालक अहिले घरधन्दाको काम गरेर दिन बिताइरहेका छन् । “अहिले सुनसान छ, कोभिडले पाहुना आउने क्रम अझै सुरु भएको छैन, हामी त पाहुनाको स्वागतका लागि तयारी छौँ”, घरबास सञ्चालक झर्ना बोटेले भने, “परिस्थिति अझै सामान्य बनेको छैन, पाहुना आउनेक्रम सुरु भएको छैन ।”
कोभिड–१९ सङ्क्रमणका कारण पाहुना आउने वातावरण नहुँदा पूर्वी नवलपरासीको कावासोती–१५ मा रहेको अमलटारी मध्यवर्ती सामुदायिक घरबास अहिले सुनसान छ । कोभिड–१९ सङ्क्रमणका कारण विश्व नै महामारीको चपेटामा पर्दा यहाँका पर्यटन व्यवसायमा समेत ठूलो असर परेको छ । पहिलो लहरको कोरोना सङ्क्रमणका बेलामा करिब आठ महिना व्यवसाय ठप्प हुँदा ठूलो नोक्सान व्यहोरेका यहाँका घरबास सञ्चालक दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणबाट पनि अछुतो रहन सकेनन् ।
गत वैशाखबाट यहाँ व्यवसाय ठप्प बनेको छ । पहिलो लहरको कोरोना सङ्क्रमणमा आठ महिना ठप्प भएर चार महिना जति चहलपहल भएको थियो । दोस्रो लहरको सङ्क्रमणले फेरि व्यवसाय ठप्प बनेको हो । घरबासका व्यवस्थापक धनीराम गुरौका अनुसार दुई÷चार जना मात्रै घरबासमा राखिँदैन । कम्तीमा १० जनाभन्दा माथि भएमा मात्रै राखिने भएकाले व्यवसायी धेरै मारमा परेको गुरौले बताए ।
वैशाखदेखि साउनसम्म चार महिनामा तीन समूहको कार्यक्रम मात्रै भएको गुरौले जानकारी दिनुभयो । कोभिड महामारी पूर्व यहाँका घरबास सञ्चालकले प्रतिघर सिजनका बेला ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको उहाँ बताउँछन । सिजन नहुँदा पनि रु २५ देखि ३० हजार आम्दानी हुने गरेको उनको भनाइ छ ।
अमलटारी मध्यवर्ती सामुदायिक घरबासका कोषाध्यक्ष चन्द्रबहादुर महतोले लामो समयसम्म व्यवसाय ठप्प हुँदा व्यवसायमा घाटा लाग्नाका साथै घर व्यवहार चलाउनसमेत गाह्रो पर्न थालेको गुनासो गरे । “कोभिडले हामी पर्यटन व्यवसायी निकै मारमा छौँ, विश्व नै आक्रान्त बनेकाले बाहिरका पर्यटक आउने कुरा भएन, आन्तरिक पर्यटक आउने माहोल पनि छैन, कोभिडका कारण कार्यक्रम भएका छैनन्”, महतोले भने।
कोभिड नभएको भए अहिलेको समयमा पनि महिनामा रु २५÷३० हजार कमाउइ हुने घरबास सञ्चालक गङ्गा महतोले बताए । उनले भने, “कोभिड कम भएर पाहुना आउनुहोला भनेर भएको पैसा पनि घरबास सिँगार्न लगायौँ, तर कोभिड झनै बढेको छ, तेस्रो लहर आउँछ भन्छन्, हामी त निकै मारमा पर्नेभयौँ ।”
कोभिडका कारण लकडाउन हुँदा यहाँका सञ्चालकले घरबासलाई मर्मतसहित सिँगारेका छन् । भित्री भागमा थारू समुदायका परम्परागत घर निर्माण गर्ने खडाइको प्रयोग गरेर सिँगार्ने काम गरेका छन् । सांस्कृतिक घरसहित पाहुना बस्ने आवासलाई उनीहरुले मौलिक र परम्परागत जीवनशैली झल्कने गरी सिँगारेर पाहुनाको स्वागतका लागि प्रतिक्षामा रहेका छन् । यहाँ अहिले माझी, मुसहर, बोटे, थारू समुदाय गरी ३१ घरले घरबास सञ्चालन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०६ भदौ २०७८, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरबासमा आएका पाहुनालाई गीत र नाचले स्वागत
घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली
पाहुनाको पर्खाइमा शुक्लाफाँटको खैयरकन्द्र घरबास