हृदयविदारक एउटा तस्बिर : जसले मनमा चसक्क छोयो...

सफल खबर संवाददाता

शनिबार, ०५ भदौ २०७८, २० : ०२
हृदयविदारक एउटा तस्बिर : जसले मनमा चसक्क छोयो...

नेपालगञ्ज । श्रीमान् दलबहादुर बटला नेपालगञ्जमा बसेर ठेक्कापट्टाको काम गर्थे । घर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ९ बटलामा श्रीमती र ३२ महिनाको छोरामात्रै थिए । दलबहादुरकी श्रीमती २८ वर्षीया धर्माकुमारी बटाला बिरामी परिन् । श्रीमान् घरमा छैनन् नेपालगञ्जमा छन् । घरमा छन् त ३२ महिनाको छोरामात्रै । धर्माकुमारी मुटुको बिरामी । एकैचोटी प्रेसर ह्वात्तै बढ्ने, घट्ने । 

बिहीबार उनलाई पीडा भयो । नेपालगञ्जमा रोजगारको सिलसिलामा बसेका श्रीमान्लाई फोन गरिन्। नेपालगञ्जमै उपचारको लागि आउन भनेपछि उनी बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन्।

बस चढ्दादेखि बसमा यात्रा गर्दासम्म श्रीमानसँग मोबाइलमा कुरा गरिरहेकी थिइन् धर्माकुमारीले । श्रीमती धर्माकुमारी र नाबालक छोरा बसमा चढेपछि दलबहादुर निरन्तर सम्पर्कमा थिए। बस छेडा भन्ने ठाउँमा आएपछि धर्माकुमारीले खाना खाइन् । छोरालाई खुवाइन् । फोनमा श्रीमानलाई आफू सामान्य अवस्थामा रहेको र आरामले यात्रा गरिरहेको बताइन् ।

श्रीमान ढुक्क भए । भोलि बिहानै श्रीमतीको उपचार गर्ने चाँजोपाँजो मिलाए । पैसाको जोहो गरेर बसेका थिए । बेलुका ५ बजे आठबिसकोटबाट हिँडेको गाडी नेपालगञ्ज बिहान ५ बजेतिर आइपुग्थ्यो । रात छिप्पीसकेको हुँदा दलबहादुर पनि श्रीमतीलाई शुक्रबार बिहान नेपालगञ्जमा भेट्ने मिठो कल्पनाका साथ सुते। गाडीमा यात्रा गरिरहेकी धर्माकुमारी पनि निदाइन् । छोरा पनि उनको काखमै सुत्यो । बसमा रहेका अन्य यात्रुहरु पनि निदाउन थाले । रात छिप्पिदै गयो । 

धर्माकुमारी चढेको बसमा उनकै सिटको अर्को सिटमा २७ वर्षीय अर्जुन केसी पनि यात्रारत थिए। अचानक धर्माकुमारीलाई वान्ता हुन थाल्यो ।  वान्ता हुन थालेपछि धर्माकुमारीले केसीसँग पोलेथिनको झोला मागिन्। त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसीलाई आग्रह गरिन्। केसीले आफू बसेको झ्याल नजिकको २ नम्बर सिट धर्माकुमारीका लागि छोडिदिए। सिटमा आमा छोरा एक्लै बसे। केसी १ नम्बर सिटमा एक्लै बसे।

बोटेचौर भन्ने ठाउँमा आइपुगेपछि धर्माकुमारीले दुई र तीन पटक वान्ता गरिन्। तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसिन्। मध्यरात भइसकेको थियो। बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो। बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका बच्चा रोयो । ‘यसो फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल खसेको मैले देखे,’ केसीले भने, ‘त्यसपछि म लगाएत अरूले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ हलचल गर्नुभएन।’

धर्माकुमारी बसको सिटमै कहिलै नउठ्ने गरि चीर निन्द्रामा सुतिसकेकी थिइन्। बच्चा रोइरहेको हुँदा केसीलगाएत बच्चालाई भुल्याउन मृतक आमाको शरीरमा राखिदिए । सोही बेलाको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बसमा यात्रा गर्नेले सो तस्बिर खिचेका हुन् । शुक्रबार बिहान श्रीमतीलाई सकुशल नेपालगञ्जमा स्वागत गर्ने प्रतिक्षमा बसेका दलबहादुर एकाबिहानै श्रीमतीलाई सदाको लागि गुमाउनु परेको खबरले विक्षिप्त भए । 

‘म कस्तो अभागि रहेछु, पहिलाको श्रीमतीले छोडेर अर्कैसँग गइ र अहिलको श्रीमतीले कलिलै उमेरमा सदाको लागि छोडेर गइन्,’ दलबहादुरले भने, ‘पहिलाको श्रीमतीको ७ वर्षीय छोरा विवेक म सँगै छ र अब अहिलेको यो अनाथ ३२ महिनाको किरणलाई मैले के गरी सम्झाउने होला  ?

प्रतिक्रिया दिनुहोस