पिपुल्स भोलेन्टियर्सद्वारा त्रिभुवन विश्वविद्यालय परिसरमा सफाइ

सफल खबर संवाददाता

शनिबार, ०५ भदौ २०७८, १५ : ३४
पिपुल्स भोलेन्टियर्सद्वारा त्रिभुवन विश्वविद्यालय परिसरमा सफाइ

काठमाडौं । माधव नेपालको पक्षका राष्ट्रिय युवा संघ नेपालअन्तर्गतको पिपुल्स भोलेन्टियर्सले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सफाइ गरेको छ । ‘महिनाको २ दिन २ घण्टा राष्ट्रका लागि’ अभियान सञ्चालन गरेको पिपुल्स भोलेन्टियर्सले शनिबार बिहान १ घण्टा त्रिवि परिसरमा सरसफाइ गरेको हो ।

राष्ट्रप्रतिको युवाहरूको दायित्वबोध गराउन आफूहरूले स्वयंसेवी ढंगले शिक्षण संस्था र स्वास्थ्य क्षेत्रहरूमा रहेका फोहोरमैला हटाउने अभियानलाई निरन्तरता दिएको पिपुल्स भोलेन्टियर्सका नेता खम भण्डारी शाहीले जानकारी दिए । भण्डारीले राष्ट्र निर्माणको अभियानमा स्वयंसेवी ढंगले अघि बढ्न पनि सबै युवाहरूलाई आह्वान गरे।

पिपुल्स भोलेन्टियर्सले यसअघि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा पनि सफाइ गरेको थियो । शिक्षा र स्वास्थ्य क्षेत्रमा सचेत युवाहरूको पंक्ति ठूलो भएकाले उनीहरू संलग्न संस्थाहरूको सफाइ अभियान सुरु गरेर राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन आफूहरूले चाहेको पिपुल्स भोलेन्टियर्सको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस