सभामुखले निष्पक्ष भूमिका निभाउन नसके पद छोड्न ओलीको चेतावनी

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १६ : ३८
सभामुखले निष्पक्ष भूमिका निभाउन नसके पद छोड्न ओलीको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारवाही गरेका १४ जनालाई निस्कासन गरेको सूचना तत्काल टाँस्न अनुरोध गरेको छन् । नेता ओलीले कारबाही गरेको जानकारी दिएको तीन दिन भइसक्दा पनि सूचना नटाँसेको भन्दै सभामुख अग्नी सापकोटाविरुद्ध आक्रोश पोखेका छन् । सभामुखको रूपमा निष्पक्ष भूमिका निर्वाह गर्न नसके पद छोड्न ओलीले चेतावनी दिए । 

आज एक भिडियो अन्तर्वार्तामा ओलीले सभामुख माओवादीको कार्यकर्ताका रूपमा प्रस्तुत भएको आरोपसमेत लगाए । उनले भने, ‘हिजो टोपबहादुर रायमाझीहरूलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल संसदमा सुनाउनुभएको थियो । अहिले तीन दिनदेखि के हेरेर बसिरहनुभएको छ ? एमालेले आफ्ना सांसदहरू हटाएको सूचना किन टाँस्नुहुन्न ?’

पार्टीले कारवाही गरेपछि २४ घन्टाभित्रै सभामुखले सूचना टाँस्नुपर्ने परम्परा रहेको ओलीले बताए । सभामुखले न्यायाधीशले जस्तो छानविन र फैसला गर्नु नपर्ने उनको भनाइ छ ।

‘कागजपत्र झिकाउँछु, हेर्छु भनेको सुनियो । सभामुख न्यायाधीश हो र ? सभामुखले छानविन, फैसला हेर्ने होइन नि । निष्कासन गरेको सूचना टाँसिदिने हो । सदन चलेको भए संसदमा सुनाउने, होइन भने सूचना टाँस गर्ने काम हो । सभामुख न्यायाधीश पल्टिने हो ? माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो ? केलाई पर्खिरहनुभएको छ उहाँ ?’ उनले प्रश्न गरे ।