सहकारीहरु लाई लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन अर्थमन्त्री शर्माको आग्रह

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, १२ : ४०
सहकारीहरु लाई लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गरेका छन् ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कुनको ३४औं स्थापना दिवसका अवसरमा मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको भन्दै मन्त्री शर्माले भने, ‘तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।’

उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुहरुलाई आग्रह गरे ।

‘तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु,’ मन्त्री शर्माले भने । उनले कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउन समेत आहृवान गरेका छन् ।

गरिवी निवारणमा सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । सहकारीले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको भन्दै त्यसलाई घटाउनुपर्ने बताए ।

कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घटना देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे ।उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस