दार्चुला घटनाको छानबिन गर्न टोली धनगढीमा, मुख्यमन्त्री र कानून मन्त्रीसँग भेटघाट

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १२ : ४१
दार्चुला घटनाको छानबिन गर्न टोली धनगढीमा, मुख्यमन्त्री र कानून मन्त्रीसँग भेटघाट

धनगढी । दार्चुलामा भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिनका लागि गठित टोली धनगढी पुगेको छ ।

गृह मन्त्रालयका सह(सचिव जनार्दन गौतम नेतृत्वको टोलीले बुधबार बिहान प्रदेशको अस्थायी राजधानी धनगढी पुगेर सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीसँग भेटघाट गरेको छ । सो क्रममा छानबिन टोलीले दार्चुलामा रहेर गरेका कामको बारेमा समेत मुख्यमन्त्री भट्ट र कानून मन्त्री जोशीलाई जानकारी गराएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री जोशीले गृहको टोलीले दार्चुलामा सरोकारवाला निकाय, पीडित परिवार, प्रत्यक्षदर्शीसँग भेटघाट तथा छलफल, घटनास्थलको अवलोकन गरेको विषयमा जानकारी गराएको बताउँदै प्रतिवेदन भने काठमाडौँ पुगेर बुझाउने बताइन् ।

मन्त्री जोशीले टोलीलाई यहाँको सीमा सुरक्षा, भारतीय पक्षले सीमा नाका दिने सास्ती लगायतका विषयमा जानकारी गराउँदै अगामी दिनमा यस्ता दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने सुझाव समेत दिएकी छन् ।

‘सिंहदरबारको आँखाबाट सीमा सुरक्षा र शान्ति सुरक्षाका हकमा सरकारको सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण कमजोर छ । भन्ने कुरा मैले पनि राखेकी छु,’ मन्त्री जोशीले भनिन्, ‘सशस्त्र प्रहरीका बीओपीहरु व्यवस्थित गर्नुपर्ने, दार्चुला तिङ्कर सडक, महाकाली करिडोर र महाकाली नदीमा निर्माणाधिन झोलुङ्गे पुल शिघ्र निर्माण गरेर आवतजावतका लागि दार्चुलाबासीले भारतीय भूमीको प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने सुझाव दिए ।’

मंगलबार दार्चुलाबाट फर्किएको टोलीले मुख्यमन्त्री र कानून मन्त्रीलाई छुट्टाछुट्टै रुपमा भेटेको हो । बैतडी र डडेल्धुरामा महाकाली नदीको तटीय क्षेत्रको निरीक्षण गरेर फर्किएको टोली आज कञ्चनपुर जादैछ ।

छानबिन टोलीका सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० पुरुषोत्तम कँडेलले कञ्चनपुरमा पनि महाकाली नदीको तटीय क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

गत १५ साउनमा भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी काटिदिएपछि खसेर व्याँस गाउँपालिका(२ का जयसिंह धामी बेपत्ता भएका थिए ।

गृह मन्त्रालयले घटनाको छानबिनका लागि सह(सचिव गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । करीब ८ दिनसम्म दार्चुलामा बसेर काम गरेको टोलीले अहिले प्रदेशको राजधानी र महाकाली नदीसँग जोडिएका जिल्लामा सरोकारवालासँग भेटघाट र छलफल गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस