बाँदरमुढे विस्फोट सम्झेर भावुक बने प्रचण्ड, प्रचण्डलाई साथ दिन ओली पनि माडीमा १३ वर्षअघि सशस्त्र द्वन्द्वको समयमा भएको बाँदरमुढे विस्फोटको विषय सम्झेर माओवादी अध्यक्ष प्रचण्ड भावुक भएका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको माडीमा आइतबार भएको सभामा उनले सो घटनामा ठूलो गल्ती भएको बताए ।
सभामा प्रचण्डले भने, ‘यता बाँदरमुढेमा अकल्पनीय र दुःखद घटना हुँदा म परिवारसहित रोल्पाबाट दाङ झर्दै थिएँ, घटना सुन्नेबित्तिकै मैले ठूलो गल्ती भयो भन्ने महसुस गरेको थिएँ ।’ घटना सुनेको साँझ खाना नखाएको र राति सुत्न पनि नसकेको उनले बताए ।
‘अब सबै पुराना कुरा बिर्सेर परिवर्तनमा होमिनुपर्छ,’ प्रचण्डले भने, ‘बाँदरमुढे घटना अब माडी परिवर्तनको केन्द्रबिन्दु भएको छ ।’ माडीलाई सबैखाले विकासको पूर्वाधारयुक्त बनाउने प्रचण्डले बताए ।
सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले चितवन र माडी क्षेत्रको विकासको सपना प्रचण्डले देखेबमोजिम आफूले पूर्ण सहयोग गर्ने बताए ।
ओलीले नाकाबन्दीको समयमा ठोरी नाका र माडीवासीले देशलाई गुन लगाएको बताए । उनले वाम गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गर्दै मतदानमा हुन सक्ने धाँधलीबाट सतर्क हुन कार्यकर्तालाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस