भारतीय सुरक्षाकर्मीद्धारा माओवादी केन्द्रका एक कार्यकर्ताको अपहरण

विहीबार, २९ चैत्र २०७४, ०८ : ३२
भारतीय सुरक्षाकर्मीद्धारा माओवादी केन्द्रका एक कार्यकर्ताको अपहरण


कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का एक कार्यकर्ता सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका छन् ।  कपिलवस्तु नगरपालिका–३ क्याम्पसटोल निवासी सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गएको सोमबार दिउँसो अपरहण गरेको परिवारिक स्रोतले दाबी गरेको छ ।

सोमबार दिउँसो घरबाट सदरमुकाम तौलिहवास्थित पार्टी कार्यालयमा पुगेका तिवारी त्यसपछि सम्पर्कविहीन अवस्थामा रहेको भन्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि उजुरी गरेका छन् ।  अपहरणमा परेका तिवारीको जीवन रक्षाको लागि पहल गरिदिन उनकी पत्नी सीता तिवारीले बुधबार पत्रकार सम्मेलनमार्फत सरकार, मानवअधिकारकर्मी र पत्रकारसमक्ष अपिल गरेकी छन् ।

अपहरणमा परेका तिवारीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी भारततर्फ लगेको हुन सक्ने उनका दाजु अनिल तिवारीले दाबी गरेका छन् । अपहरणमा परेका तिवारीमाथि भारतमा  लागू औषधसम्बन्धी मुद्दा चलिरहेको छ ।
अपहरणमा परेका तिवारीको खोजी कार्य भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस