सडकमा किलाको ‘एम्बुस’

पत्रपत्रिकाबाट

शनिबार, २६ असार २०७८, ०७ : ५९
सडकमा किलाको ‘एम्बुस’

काठमाडौं । दृष्टि विशेषज्ञ डा. दीपेन्द्रराज भट्टराई चढेको कार १० दिनअघि कोहलपुरबाट नेपालगन्ज नपुग्दै पन्चर भयो। ‘नयाँ टायर थियो। कसरी–कसरी हावा गयो ? अचम्म लाग्यो’, कोहलपुर नेत्रालयमा कार्यरत डा.भट्टराईले भने, ‘क्याट आईको किला पो गढेको रहेछ।’ राजमार्गमा रातिको समयमा गाडीको साइड लाइटजस्तै पहेंलो बत्ती बल्ने लाइटका रूपमा क्याट आई (बिरालोको आँखा) प्रयोग हुन्छ। 

कोहलपुर नगरपालिका–१२ चप्परगौडीका किरण रैलाले त जेठमै दुईपटक मोटरसाइकलको टायर फेरे। ‘१८ जेठमा कोरोना संक्रमितलाई भेटेर नेपालगन्जबाट घर फर्कँदै थिएँ, कोठारपुरमा पुगेपछि किलाले बाइक पन्चर भयो।

निषेधाज्ञाले गर्दा वर्कसपहरू सबै बन्द थिए। झन्डै ६–७ किलोमिटर बाइक डोर्‍याएर घर जानुपर्‍यो’, उनले आक्रोश पोखे, ‘त्यति बेला निकै रिस उठ्यो। जेठको अन्तिम साता फेरि नेपालगन्ज जाने बेला पनि किलाले बाइक पन्चर बनायो।’ कोहलपुरमा मसला उद्योग सञ्चालन गरेका उनी नेपालगन्ज ओहोरदोहोर गरिरहन्छन्। उनी बाटोभरि नै क्याट आइका किला नै किलाको ‘एम्बुस’ रहेको टिप्पणी गर्छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस