माधव नेपाल शान्तिप्रक्रियामा सबैभन्दा धेरै खटिएका नेता : प्रचण्ड

आइतबार, १७ मंसिर २०७४, ०८ : १०
माधव नेपाल शान्तिप्रक्रियामा सबैभन्दा धेरै खटिएका नेता : प्रचण्ड

चुनावी प्रचार उत्तराद्र्धमा पुग्दै गर्दा वाम गठबन्धनका शीर्ष नेताहरू एकअर्काको चुनावी क्षेत्रमा मत माग्न व्यस्त देखिएका छन् । चितवन–३ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनि‘बार एमाले नेता माधवकुमार नेपालका लागि काठमाडौं–२ मा मत माग्न व्यस्त देखिए ।

शनिबार बिहान पेप्सीकोला र टाउनप्लानिङ क्षेत्रमा घरदैलो र कोणसभामा सहभागी भएर मत माग्दै प्रचण्डले नेपाललाई शान्तिप्रक्रियामा सबभन्दा बढी सक्रिय व्यक्तित्व भएकाले मत दिन आग्रह गरे । ‘माधव नेपाल जोखिम मोलेर शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सबभन्दा बढी खटिने नेता हुनुहुन्छ ।

हामीले धेरैपटक निष्कर्षमा पुर्‍याउन धेरै ठाउँमा औपचारिक–अनौपचारिक वार्ता गरेका थियौँ । मुलुकमा राजनीतिक संकट पर्दा समन्वय गर्दै पार लगाउन सक्ने क्षमता भएको व्यक्तित्व हुनुहुन्छ, नेपालको प्रशंसासहित मत माग्दै प्रचण्डले भने, ‘यो क्षेत्रका लागि मात्र होइन नेपालको राजनीतिका लागि पनि उहाँ आवश्यक व्यक्ति हुनुहुन्छ, यस्तो व्यक्ति प्राप्त गर्नु तपाईंहरूका लागि पनि गौरवको कुरा हो ।’

नेपालले पनि केही दिनअघि चितवनमा आयोजित चुनावी सभामा पुगेर प्रचण्डलाई जिताउन आह्वान गरेका थिए । नेपालले पनि राजनीतिलाई जहिले पनि निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्तित्व भएको भन्दै चितवनमा देखिएको लहरले प्रचण्डको जित सुनिश्चित भइसकेको दाबी गरे । ‘हामी दुई विगतदेखि फरक–फरक आन्दोलनका प्रतीक पनि हौँ, अहिले एकै ठाउँ उभिएका छौँ,’ नेपालले भने, ‘प्रचण्डजी फड्को हानेर जोखिम मोल्ने अर्थात् राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति हुनुहुन्छ, यस्तो व्यक्तिलाई अवश्य पनि चितवनका जनताले जिताउनेछन् ।’ दुवैका मन्तव्य सुनेर उत्साहित कार्यकर्ताले ‘पुसको पहिलो हप्तामा वाम गठबन्धन सत्तामा, वाम एकता जिन्दावाद’ भन्दै नारा लगाएका थिए । दुवै नेताले मञ्चबाट कसिलो गरी हात बाँधेर मतदातालाई अभिवादन पनि गरे ।

प्रतिक्रिया दिनुहोस