चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११, बसेनीमा रहेको भिजन डेरी उद्योगमा हिजो आइतबार राति आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । हिजो राति करिब ११ बजेतिर आइब्टी र चिलिङ भ्याटको इलेक्ट्रिक डिभाइसमा विद्युत सर्ट भई आगलागी भएको भिजन डेरी उद्योगका इलेक्ट्रिक सब ओभरसियर बिरेन्द्र साहले बताउनु भयो ।
एकाएक धुवाँको मुस्लो आएर प्लान्ट एरिया पुरै अँध्यारो भएपछि उद्योगका संचालकलाई जानकारी गराइएको साहले बताउनु भयो । उद्योग संचालकहरुले दमकललाई खबर गरी उद्योगमा रहेको फायर फाइटिङ र पानीले आगो निभाउने प्रयास भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, उद्योग वरपरका बासिन्दा र भरतपुर महानगरपालिकाबाट आएको दमकलको सहयोगबाट करिब दुई घन्टाको प्रयासमा आगो पूर्णरुपमा निभाइएको थियो ।
आगलागीबाट उद्योगको बोइलर सेक्सन, आइब्टी सेक्सन, चिलिङ यूनिट, हट रूम र कोल्ड स्टोरमा पूर्णरुपमा क्षति पुगेको भिजन डेरी उद्योगका कार्यकारी अध्यक्ष सुरेशचन्द्र अधिकारीले बताउनु भयो । उद्योगमा जडित डिभाइसहरू पूर्णस्वचालित रहेको र आगलागीपछि उद्योगका कुनै पनि यूनिट नचलेको बताउँदै अधिकारीले बोइलर, आइबिटी, चिलिङ भ्याट, तातो तथा चिसो पाइपलाइनमा ठूलो क्षति भएको जानकारी दिनुभयो ।
भिजन डेरीका कार्यकारी अध्यक्ष अधिकारीका अनुसार, आगलागीबाट दूध राख्ने क्रेट २ सय ५० वटा, दूध र दही प्याकिङ गर्ने प्लाष्टिक चार क्वीण्टल जलेर नष्ट भएका छन् । सम्पूर्ण हाइकोर विद्युत लाइनहरू ड्यामेज भएको अधिकारीले बताउनु भयो । उहाँका अनुसार प्रारम्भिक अनुमानमा करिब १५ लाख रुपैयाँ बराबरको क्षति देखिएको र प्राविधिक चेकजाँचपछि सम्पूर्ण क्षतिको विवरण पत्ता लाग्नेछ ।
विगत १६ वर्षदेखि संचालनमा आएको भिजन डेरी उद्योगले राहुल ब्रान्डका दूध, दही, बटर, क्रिम, पनिर, नौनी तथा सुजन ब्राण्डको घिउ उत्पादन गर्दै आएको छ । भिजन डेरीका उत्पादन चितवन, नवलपरासी, .गोरखा र तनहुँका बजारमा बिक्री वितरण हुँदै आएको छ ।
उद्योगले क्षति भएका उपकरणहरू तत्काल मर्मत सम्भार गरी उपभोक्ताहरूलाई लोकप्रिय ब्रान्ड तत्काल उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेको छ । साथै, आगलागी नियन्त्रणमा सहयोग पु¥याउने स्थानीय जनसमुदाय, टोलसुधार समिति र भरतपुर महानगरपालिकालाई थप क्षति रोक्न महत्वपूर्ण सहयोग पु¥याएकोमा धन्यवाद ब्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस