चितवन । कोरोनाको कहरका कारण गरिएको लकडाउनले गर्दा चितवनको पर्यटकिय क्षेत्रहरु सुनसान छन् । चितवनको इतिहाससंग जोडिएको अंग्रेज विरुद्धको युद्धमा प्रयोगका लागि निमाण गरिएको चितवनको ऐतिहासिक महत्व बोकेको पर्यटकिय स्थान उपरदाङगढी पनि अहिले ओझेलमा छ ।
संक्तिखोर देखी उपरदाङगढी हुँदै महेन्द्र राजमार्ग स्थित फिस्लिङसम्म जोडिने सडक निमार्णमा काम गर्ने मजदुर बाहेक यो एक महिना यता त्यहा पर्यटक पुग्न पाएका छैन्न । इच्छाकामना गाँउपालिका वडा नम्वर ७ मा पर्ने यस स्थान निकै मनोरम र आकर्षक रहेको छ । यो क्षेत्रको विकासका लागि इच्छाकामना गाँउपालिकाले यहाँ बाटो निर्माण, जग्गा संरक्षणका लागि तारबार गर्ने खानेपानीको प्रवन्ध गर्ने लगायतका सामान्य पुर्वाधारहरु निर्माण गरेको छ ।
चितवन र समग्र देशको इतिहाससँग जोडिएको यस गढीलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर पर्यटकीय गन्तब्य बनाउने गरी काम गरेको गाँउपालिका अध्यक्ष गीता गुरुङले बताइन् ।पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपरदाङगढीबारे पछिल्लो समय चर्चा र चाँसो हुन थालेकाले इच्छाकामना मन्दिर, सिँराइचुली, जलवीरे झरना र उपरदाङगढीलाई एकिकृत पर्यटकीय गन्तब्यको रुपमा अघि बढाइएको उनको भनाई छ ।
पूर्वाधार अभाव र प्रचारप्रसारको कमीले यस ऐतिहासिक गढी घुम्न थोरै पर्यटक मात्र पुग्ने गरेका छन ।उपरदाङगढी स्थित भञ्ज्याङ सम्म जाने सडकसमेत निर्माण गरिएको छ । भने त्यहाबाट करिव १० मिनेट उकालो चडेपछि गढी पुग्न सकिन्छ ।
उपरदाङगढीको इतिहास
इतिहासमा उल्लेख गरिएअनुसार सन १९६० सम्म उपरदाङगढी चितवनको सदरमुकाम थियो । तत्कालीन बाइसे चौविसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौज विरुद्ध युद्धका बेला सन १८८५ मा पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए ।
अहिले गढीमा ऐतिहासिक किल्ला, तोप हान्न बनाइएका नौ आकर्षक स्थान, कोत घर र विभिन्न मन्दिरको भग्नावशेष देख्न सकिन्छ । चारैतिर विशाल र ठूला कुँदिएका ढुङ्गाले बनेको पर्खाल हेर्दैमा आकर्षक देखिन्छ । कोरोना समय अगाडी दैनिक ४० देखि ५० पर्यटक गढी घुम्नका लागि जाने गरेको स्थानियहरुले बताए । गढीबाट मनास्लु र अन्नपूर्ण हिमाल, प्राकृतिक दृश्यावलोकन र चितवनको समथर फाँट तथा निकुञ्जलाई राम्ररी नियालेर मनोरञ्जन लिन सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ ।
चितवनको विकाससंग जोडिएको गढी
चितवनको विकासक्रम शुरू भएको धेरै भएको छैन । बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले वि.सं. १८८५ मा उपरदाङगढी बनाएपछि यसलाई विभिन्न अड्डाहरुका रूपमा २०१८ सालसम्म कायम राखेको भन्ने इतिहासमा लेखिएको छ । पछि यातायातको असुबिधाले राजा महेन्द्रको समयमा हालको भरतपुरमा सदरमुकाम सारिएको भन्ने देखिन्छ । पछि राजा महेन्द्रको महत्वकांक्षी योजना अन्तर्गत बनेको महेन्द्र राजमार्गले यसलाई छिचोलेर गएपछि यो ठाँउको विकास तिब्र रूपमा बढेको हो ।
थारुका राजाका नामबाट रह्यो चितवनको नाम
चितवनलाई पहिले चित्रवन भनिन्थ्यो । यो ठाँउमा पहिले ठूलो वन थियो । वनमा थारूहरूको राजा चित्रसेनले राज्य गर्दथे । यहि चित्रसेन राजाले संरक्षण गरेको वन भएकोले चित्रवन भन्न थालियो जो पछि चितवनको नामले चिनिन थाल्यो । हालपनि थारूहरू हरिवोधनी एकादशीको दिनमा भगवान “चित्रसेन बाबा“को रूपमा पूजा गर्ने गर्दछन् । पछि यो स्थानमा भारतिय राजनितीको प्रभाव कम गर्न राजा महेन्द्रले पहाडवासी जनतालाई निशुल्क जग्गा वितरण गरेपछि यहाँको जनसंख्या बढ्न गयो । बन्दिपुरका नेवारहरु पनि बिस्तारै यहि स्थानान्तर हुँदै आए । २०२२ सालमा यहि नजिकै गँैडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरेपछि यो स्थानको विकासक्रम तिब्र रूपले बढ्न गयो । नारायणी नदीको किनारमा अवस्थित भएकोले नारायणघाट या नारायणगढ पनि भन्न थालियो ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
आइतबार, २३ जेठ २०७८, १६ : ११
लेखकबाट थप