खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने स्वास्थ्य संकटकाल लगाउने तयारी

पत्रपत्रिकाबाट

मंगलबार, ११ जेठ २०७८, ०७ : १४
खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने स्वास्थ्य संकटकाल लगाउने तयारी

काठमाडौँ । कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ ।

कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय विज्ञ र सरोकारवालासँगको छलफलपछि अघि बढेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

‘विज्ञहरूले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ,’ उनले सोमबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा भने । मन्त्रालयले अहिलेको अवस्था विश्लेषण गर्दा संक्रमण घट्न अझै चार साता लाग्ने अनुमान गरेको छ ।

स्वास्थ्य मापदण्ड अझ कडाइका साथ पालना गरेर संक्रमण न्यून गर्न पनि संकटकालको प्रस्ताव अघि बढाएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले पुष्टि गरे । संक्रमित हुने दर अझै ३६ प्रतिशतभन्दा तल झरेको छैन ।

कोरोना पोजिटिभमध्ये मृत्युदर १.६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ८५ जनाको मृत्यु भएका छन् । ‘संक्रमित हुने दर ८–१० प्रतिशतसम्म नझरेसम्म नियन्त्रणमा आएको मान्न सकिँदैन,’ सचिव अर्यालले भने, ‘कोरोनाबाट हुने मानवीय क्षति रोक्न पनि यसको विकल्प नभएकाले मन्त्रालय संकटकालको पक्षमा उभिएको हो । यो विषयमा आर्थिक क्षेत्रमा हुने असरका बारेमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस