नेपाल पक्षले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, १३ : ५०
नेपाल पक्षले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने

काठमाडौं । माधवकुमार नेपाल पक्षले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ। शनिबार बसेको एमालेको स्थायी कमिटी बैठकले सोमबार बिहानसम्मको समय दिएर अन्तिम पटक भन्दै विघटित संसदका ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेपाल पक्षका सांसदहरूले आफूहरुलाई सोधिएको स्पष्टीकरण प्राप्त भएको बताएका छन् । सांसद मेटमणि चौधरीले स्पष्टीकरण पाएको तर त्यसको जवाफ नदिने बताए ।

अर्की सांसद कल्याणी खड्काले पनि स्पष्टीकरण पत्र आफूलाई प्राप्त भएको बताइन् । स्पष्टीकरणमा पार्टी अनुशासन उल्लघंन गरेर विपक्षीलाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरेको ? त्यसवापत कारबाही किन नगर्ने ? भनेर सोधिएको जानकारी दिइन् ।

‘स्पष्टीकरणको केही अर्थ छैन,’ खड्काले भनिन्, ‘जे-जे सोध्छन् हामीले त्यसको स्पष्टीकरण दिँदै जाने दास हो र हामी ? स्पष्टीकरणको जवाफ दिँदैनौं । स्ष्टीकरण दिए पनि त्यहाँ आत्मसर्मपण गर्न जाने होइन ।’

खड्काले स्पष्टीकरणको जवाफ नदिएवापत जस्तोसुकै कारबाही भोग्न आफूहरू तयार रहेको बताइन् । ‘उहाँहरूलाई जे मन लाग्छ, त्यही गर्नुहुन्छ, गरे हुन्छ । कारवाहीको केही अर्थ छैन् । सांसद छैनौं, उहिल्यै केन्द्रीय सदस्यबाट हाम्रो जिम्मेवारी खोसिसक्या छ ।’

संविधानको धारा ७५ (५ )अनुसार प्रधानमन्त्री दावी गर्दा नेपाल पक्षका २६ सांसदले विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षामा हस्ताक्षर गरेका छन् ।

स्ष्टीकरणको जवाफ दिन दिइएको समय घर्किनै लाग्दा एमालेको संस्थापन पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्पष्टीकरण सोधिएकाहरुलाई कारवाही हुने सम्भावना छ।त्यस्तै बैठकमा पार्टी विवाद समाधानका लागि गठित वार्ता टोलीको सन्दर्भमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस