परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री सेरमनबीच वार्ता

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, १२ : २७
परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री सेरमनबीच वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनबीच सोमबार टेलिफोन संवाद भएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्ध सहकार्य र साझा अन्तर्राष्ट्रिय मुद्दाका विषयमा कुराकानी भएको थियो । मन्त्री ज्ञवालीले कोभिड–१९ मा अमेरिकाले देखाएको सद्भावपूर्ण सहकार्यलाई लिएर धन्यवाद व्यक्त गरेका थिए ।

ज्ञवालीले विश्वव्यापी महामारीविरुद्धको सहकार्यमा अमेरिकी नेतृत्वको प्रशंसा गरे । उनले उपविदेशमन्त्री सेरमनलाई विकासोन्मुख मुलुकलाई खोप वितरण गर्दा नेपाललाई पनि उत्तिकै प्राथमिकतामा राख्न अनुरोध गरे ।

उपविदेशमन्त्री सेरमनले बाइडेन प्रशासनले कोरोना भाइरसविरुद्ध लड्न सहकार्य गर्नेदेखि नेपालको सामाजिक आर्थिक क्षेत्रमा सहयोग पुर्‍याउने आश्वासन पनि दिए ।

दुई पक्षबीच जलवायु परिवर्तनको विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच नेपालले आउँदो अक्टोबरमा गर्ने तय गरेको सगरमाथा संवादको विषयमा पनि कुराकानी भएको थियो ।


 

प्रतिक्रिया दिनुहोस