घरदैलो गर्दै प्रकाशमानले भने- मतदाताको ‘बडील्याङ्ग्वेज’ देखेर उत्साहित छु

शुक्रबार, १५ मंसिर २०७४, ११ : ५७
घरदैलो गर्दै   प्रकाशमानले भने- मतदाताको ‘बडील्याङ्ग्वेज’ देखेर उत्साहित छु

चितवन  । काठमाडौं क्षेत्र नम्बर १ का नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले चुनावी घरदैलो कार्यक्रम अन्त्य गरेका छन् ।

काठमाडौं महानगरपालिका ११ भोटेबहाल क्षेत्रमा शुक्रबार बिहान अन्तिम घरदैलो कार्यक्रम गरेका उनले मतदाताको ‘बडी ल्याङ्ग्वेज’बाट आफू उत्साहित भएको बताए ।

भेटघाटको क्रममा मतदाताले निर्वाचन क्षेत्र मात्र होइन, देश विकास गर्न सुझाव दिएको प्रकाशमानले बताए । भ्रष्टाचार निर्मुल गर्नुपर्‍यो, सुशासन ल्याउनुपर्‍यो, जनतालाई सुख सुविधाका साथ सुरक्षित तवरले बस्ने वातावरण सरकारले बनाइदिनुपर्‍यो भन्ने आम मतदाताको माग रहेको उनको भनाइ छ ।

प्रकाशमानले भने, ‘यसभन्दा अगाडि मैले संविधान लेखन कार्यमा समय धेरै व्यतित गर्नुपर्‍यो । अब नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान भन्ने जुन नारा छ त्यसको लक्ष्यमा पुर्‍याउनको लागि काम गर्छु ।’

काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंहसँगै वाम गठबन्धनबाट माओवादी केन्द्रका अनिल शर्मा र विवेकशील साझा पार्टीका रविन्द्र मिश्र चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस