तनहुँका अस्पतालहरुमा पर्याप्त छैनन् अक्सिजन सिलिन्डर

रासस

बुधबार, २२ बैशाख २०७८, १२ : ५५
तनहुँका अस्पतालहरुमा पर्याप्त छैनन् अक्सिजन सिलिन्डर

तनहुँ । कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो । 

विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र प्लान्ट स्थापनाप्रति सरोकारवाला निकायको ध्यान गएको पाइएको छैन । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सानो÷ठूलो गरी ३२ वटा सिलिन्डर रहेको छ भने दमौली अस्पतालमा २७ र बन्दीपुर अस्पतालमा पाँचवटा मात्र अक्सिजनको सिलिन्डर मौज्दात छ ।

जिल्लास्थित कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा अक्सिजनको भण्डारणमा ध्यान दिन अनुरोध गरिए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले यस बारेमा चासो नदिएको दमौली अस्पतालका मेसु डा सुनिल पौडेलले बताए । दमौली अस्पतालमा मौज्दात रहेका २७ सिलिन्डरले एक साताका लागि पनि माग धान्न नसक्ने डा पौडेलको भनाइ छ । एकै पटक कोभिडका श्वासप्रश्वासका धेरै बिरामी आए भने त्यसले धान्न नसक्ने डा पौडेलले बताए । 

स्थानीय तहले अहिलेको अवस्थामा अन्य खर्चहरु कटौती गरेर भए पनि अक्सिजनको खरीदमा लाग्नुपर्ने डा पौडेलको सुझाव छ । “पछि सबैतिर अक्सिजनको अभाव हुन थाल्यो भने पैसा तिरेर पनि खरीद गर्न पाइँदैन,” डा पौडेलले भने, “अहिले अवस्था अलि सहज हुँदैमा अक्सिजनको भण्डारण गर्न सकेमा राम्रो हुने थियो ।” दमौली अस्पालमा हालै स्वास्थ्य मन्त्रालयमार्फत सात वटा आइसियु र चारवटा भेन्टिलेटरको व्यवस्था गरिएको छ । तर आइसियु र भेन्टिलेटर सञ्चालन गर्न पनि अक्सिजन आवश्यक पर्छ ।

जिपी कोइराला उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले पनि पर्याप्त मात्रामा अक्सिजन नभएको बताए । पर्याप्त मात्रामा खरीद गरेर राख्न सके भविष्यमा जोखिम कम गर्न सकिने उनले बताए। पोखराबाट अक्सिजन ल्याउने प्लान्टले आवश्यक पर्ने जति उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि जोखिम बढ्दै गएपछि अक्सिजन पाउने या नपाउने ग्यारेन्टी नहुने डा श्रेष्ठको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस