हिँउदे खडेरीका कारण गहुँ उत्पादनमा कमी

रासस

सोमबार, २० बैशाख २०७८, १६ : ३१
हिँउदे खडेरीका कारण गहुँ उत्पादनमा कमी

file Photo

बझाङ । लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदेबालीको उत्पादनमा कमी आएको छ । जिल्लाको सेती, कालङ्गा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइको सुविधा भएका सीमित क्षेत्र आकासेपानीको भरमा खेती गरिने सबै ठाँउको उत्पादनमा कमी आएको छ ।

लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरोलगायतका हिउँदेबालीको उत्पादनमा कमी आउँदा जिल्लामा चरम खाद्य सङ्कट हुने देखिएको छ । 
यस वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका­१ का किसान अमृत शाहीले बताए । “हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो अर्कातिर असिनाले नष्ट भयो’’, उनी बताउँछन् । 

यस वर्ष आउनसक्ने खाद्य सङ्कटबाट भोकमरी हुन नदिन खडेरी पिडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदुरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि  तत्काल राहतस्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनु पर्नेमा  भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन् । खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहुँ, जौ, केराउ, मसुरोलगायतका हिँउदेबाली लगाएकामा छ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले नौ हजार ३३६ मेट्रिक टन हिउँदे बाली पूर्णरुपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । 

जिल्लामा कूल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ । यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ । खडेरीका कारण जिल्लाको कुल जनसङ्ख्याको ४५ प्रतिशत जनसङ्ख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई चरम खाद्य सङ्कट हुने विष्टले बताए । यसपालि खडेरीले उत्पादनमा क्मी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ । 

  

प्रतिक्रिया दिनुहोस