त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १४ : १९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् ।

विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।‘खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका थिए’ गौतमले भने, ‘एउटामा डेढ सयदेखि दुुई सय ग्रामसम्म सुन राखेको पाइएको छ ।’

अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् ।

कडा चेकजाँचका कारण ठूलो परिमाणमा सुन ल्याउन नसकेपछि तस्करहरुले वैदेशिक रोजगारीबाट फर्किन लागेका विभिन्न व्यक्तिहरु प्रयोग गरेर सानो सानो परिमाणमा सुन भित्र्याउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस