षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार दाहाललाई

शनिबार, १७ चैत्र २०७४, ०८ : ०७

 


विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पत्रकार निष्पक्ष, तटस्थ र निर्भीक भई जनताको अधिकार स्थापित गर्ने कार्यमा लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका उपलक्ष्यमा शुक्रबार यहाँ आयोजित षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार– २०७४ वितरण समारोहमा उहाँले प्रदेश सरकार जनताको सूचनाकोअधिकार कायम गर्नका लागि कानून मस्यौदा प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री कार्कीले पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं तारानाथ दाहाललाईरु ५१ हजार रकमसहितको षष्ट्रिका बस्नेता सूचना अधिकार प्रदान गर्नुभयो ।

यसैगरी प्रदेशका आर्थिक मामिला तथा तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो र सामाजिक विकासमन्त्री जीवन घिमिरेले संयुक्तरुपमा विराटनगरका राजु श्रेष्ठलाई रु ११ हजार १११ को षष्ट्रिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार वितरण गर्नुभयो ।

विराटनगर–११ निवासी केदारबहादुर कार्कीले आफ्नी स्व श्रीमतीका स्मृितमा रु सात लाख अक्षयकोष खडा गरी उक्त पुरस्कारको स्थापना गर्नुभएको हो । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हक कायम गर्नका लागि ७५३ स्थानीय तहमा पाँचबुँदे सूचनाको आदेश पठाइसकिएको जानकारी दिनुभयो ।

पुरस्कृत व्यक्तित्व दाहालले पत्रकारिता जनता र लोकतन्त्रप्रति उत्तरदायित्व हुनपर्ने बताउँदै अनुसन्धानमूलक र विश्वसनीय पत्रकारिता भएमा जनताको विश्वास आर्जन गर्न सकिन्छ भन्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस