काष्ठमाण्डप पुनःनिर्माणका लागि प्रमुख शाक्यलाई ज्ञापनपत्र

शुक्रबार, १६ चैत्र २०७४, १५ : २७
काष्ठमाण्डप पुनःनिर्माणका लागि प्रमुख शाक्यलाई ज्ञापनपत्र

काठमाडौँ । स्थानीय नागरिक दबाब अभियानको तर्फबाट काष्ठमाण्डप पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाइएको छ । नागरिक दबाबका लागि अभियानको तर्फबाट संयोजक भगवती जोशीले प्रमुख शाक्यलाई आज छबुँदे ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाउनुभएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, “ऐतिहासिक तथा गौरवको आधारस्तम्भका रुपमा रहेको काष्ठमण्डपलगायतका महत्वपूर्ण सम्पदाको पुनःनिर्माणको सवालमा महानगरको तर्फबाट ढिलासुस्ती भएको भन्दै तत्काल सम्बोधन गर्न माग गरिएको छ ।”

बढ्दो अव्यवस्थित पार्किङ र अनियन्त्रित तरकारी बजारको व्यवस्थापन एवं असन क्षेत्रमा जस्तै चारपाङ्ग्रे सवारी निषेधका लागि अन्य भित्री शहरमा पनि काम गर्न माग गरिएको छ । त्यस्तै आपत्कालीन सवारी साधनलाई सहज बनाउन ट्राफिक व्यवस्थापन गर्नुपर्ने, फुटपाथ हटाउनुपर्ने र हनुमानढोकामा भाषणको कार्यक्रम गर्न निषेध गरिनुपर्नेजस्ता माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख शाक्यले ध्यानाकर्षणपत्रमा उठान गरिएको माग सम्बोधनका लागि आफू एकदम सकारात्मक रहेको बताउनुभयो । स्थानीय संघसंस्थाका प्रतिनिधि र स्थानीय क्षेत्रबाट निर्वाचित प्रदेश तथा संघीय संसद्का सांसदहरुसँगको सल्लाहमुताविक आवश्यकताअनुरुपको समिति गठन गर्दै निर्माण कार्य शीघ्रातिशीघ्र आरम्भ गर्ने तयारी रहेको पनि शाक्यले जानकारी दिनुभयो ।

उहाँले थप मागको सम्बन्धमा भने महानगरको तर्फबाट सहयोगमा स्थानीय वडा समितिलाई स्थानीयवासीको सहकार्यमा काम गर्न तत्काल निर्देशन दिइने बताउनुभएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण काष्ठमाण्डप, धरहरा रानीपोखरीजस्ता ऐतिहासिक सम्पदामा क्षति पुगेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस