भेरियन्ट पत्ता लागे रोकथाम सहज

पत्रपत्रिकाबाट

शनिबार, ०४ बैशाख २०७८, ०७ : ४४
भेरियन्ट पत्ता लागे रोकथाम सहज

काठमाडौं । कोरोना भाइरसका नयाँ भेरियन्टले दोस्रो लहर तीव्र पारे पनि नेपालमा यसबारे अध्ययन हुन सकेको छैन। बेलायतमा देखिएको ‘युके भेरियन्ट’ नेपालमा पनि पुष्टि भएको एक अध्ययनले देखाएको छ। उक्त आनुवांशिक अध्ययनअन्तर्गत नेपालमा संकलित भाइरसका १५ नमुनालाई हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो। 

अध्ययनअन्तर्गत एसजिन नेगेटिभ रहेका १० र ५ पिसिआर पोजेटिभ भएकासमेत गरी १५ नमुनाको जेनेटिक सिक्वेन्स तयार गरिएको थियो। एसजिन नेगेटिभ भएका १० नमुनामध्ये ९ मा कोरोना भाइरसको ‘युके भेरियन्ट’ पाइएको थियो भने पिसिआर गरिएकामध्ये एकमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको थियो। नेपालमा भाइरस परीक्षण क्रममा एसजिन नेगेटिभ देखिएमा यसलाई ‘युके भेरियन्ट’ हुनसक्ने मानिएको छ।  

नेपालमा महामारीले तीव्र रुप लिइरहँदा यसका लागि भाइरसको कुन भेरियन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ। यसका लागि निरन्तर अध्ययन आवश्यक हुन्छ। यसैगरी नयाँ भेरियन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि यो अध्ययन आवश्यक रहेको विज्ञ बताउँछन्।  

केही महिनाअघि नेपालमा पहिलोपटक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा कोभिड–१९ भाइरसको आनुवांंशिक अध्ययन भएको थियो। उक्त अध्ययन एक निजी प्रयोगशालामा भएको थियो। अध्ययनले समेटेका १५ भाइरसका सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेको र अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दोजुल्दो देखाएको थियो। अध्ययनले धेरै देशमा पाइएको भाइरसको ‘डी–६१४–जी’ नाम गरेको उत्परिवर्तित स्ट्रेन नेपालमा पनि रहेको देखाएको थियो। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस