सडक विस्तारको काम पूरा भएपछि मात्र बजेट निकासा गर्न नेता नेपालको सुझाव

शुक्रबार, १६ चैत्र २०७४, १२ : ५९
सडक विस्तारको काम पूरा भएपछि मात्र बजेट निकासा गर्न नेता नेपालको  सुझाव

काठमाडौं  ।  सत्तारुढ दल नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सडक विस्तारको काम पूरा नभई बजेट निकासा नगर्न सरकारलाई सुझाव दिएका छन् ।

वरिष्ठ नेता नेपालले काम सम्पन्न भएपछि मात्रै एकमुष्ट बजेट निकासा भए सडक निर्माणको काम समयमै सम्पन्न हुने अवस्था आउने पनि स्पष्ट पारे ।
 शुक्रबार काठमाडौंमा आयोजित ‘समाजवादका लागि भौतिक पूर्वाधार’ विषयक विचार गोष्ठीमा बोल्दै उनले समयमै गुणस्तरीय काम सम्पन्न हुने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
उनले उनले  ‘झोलामा सडक र पोल’ हालेर हिँडेका कारण काठमाडौं उपत्यकाको सडकको अवस्था दयनीय बन्न गएको पनि स्मरण गराए ।
वरिष्ठ नेता नेपालले परिणाममुखि काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउन सरकारसँग आग्रह गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै सोही अनुसार सरकारका सबै निकायले काम गर्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बैशाख महिना भित्र काठमाडौं उपत्यकाको सडकलाई व्यवस्थित बनाउने घोषणा गरे ।
उनले  निर्माण क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई पनि बैशाख महिना भित्रै समाप्त पार्ने योजना पनि अघि सारे ।
 मन्त्री महासेठले यात्रुको चाप रहेको काठमाडौंको मुख्य–मुख्य स्थानमा तत्काल सडकको उचित व्यवस्थापन गर्न निर्देशन दिइएको पनि स्मरण गराए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थासम्बन्धि कार्यक्रमबारे जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस