पहिलो राष्ट्रिय आयुर्वेद गोष्ठी हुने

शुक्रबार, १६ चैत्र २०७४, १२ : २४

काठमाडौँ । नेपालमा पहिलोपटक राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुन लागेको छ । आयुर्वेदमा पछिल्लो समयमा भएका खोजी अनुसन्धान र उपलब्धिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक गोष्ठी आयोजना हुन लागेको हो ।
नेपाल विद्यार्थी समाजको आयोजनामा आगामी चैत २४ गतेबाट काठमाडौँको कीर्तिपुरमा हुने गोष्ठीमा देश विदेशबाट आएका विज्ञले आयुर्वेदको विकास र पछिल्ला उपलब्धिबारे जानकारी दिने बताइएको छ । नेपाल आयुर्वेद समाजका अध्यक्ष डा सुमन खनालले आयुर्वेदले मानव स्वास्थ्यमा महत्वपूर्ण भूमिका पु¥याउँदै आएकाले यसको विकासका लागि गोष्ठीले बहसका लागि ध्यानाकर्षण गराउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो ।

अध्यक्ष खनालले आयुर्वेदका विज्ञ, अभ्यासकर्ता, परम्परागत चिकित्सक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहने जानकारी दिनुभयो । विभिन्न औषधि कम्पनीका उत्पादन, विभिन्न जडीबुटी तथा हर्वेरियमको प्रदर्शनी हुनेछ । भारतको राष्ट्रिय आयुर्वेद विद्यार्थी तथा युवा संघ (नस्य) सँगको सहकार्यमा हुन लागेको गोष्ठीमा भारतबाट समेत आयुर्वेदका विज्ञ, विद्यार्थी, खोजकर्ता सहभागी हुनेछन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस