पोखरा । आहा–रारा गोल्डकप फुटबलको उपाधि जित्दै संकटा क्लबले इतिहास रचेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा अफ्रिकन रुट्स एशोसियसन डाउला क्यामरुनलाई टाइब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो पटक आहा–राराको उपाधि चुमेको हो ।
१९औं संस्करणको उपाधिसँगै संकटाले १० लाख १ हजार रुपैँया हात पारेको छ ।निर्धारित र थप गरिएको समयमा पनि खेल १–१ गोलको बराबरीमा रोकिएपछि निर्णय पेनाल्टी सुटआउटमा लिइएको थियो । संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गर्दै संकटाका लागि पहिलो पटक आहा–रारामा इतिहास रचेका हुन् ।
अफ्रिकनका यानिक र रिमले गोल गर्दै खेल प्रतिस्पर्धामा गराएको भए पनि कुइटेको प्रहार खेर गयो भने संकटाका गोलकिपर राजाबाबु थापाले एमबाकोपको प्रहार छेक्न सफल भए ।पोखरा रंगशालामा भएको खेलमा अग्रता भने अफ्रिकन रुट्सले लिएको थियो । १० औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुट्सलाई १–० को अग्रतामा पुर्याएका थिए । उसले पहिलो हाफभर आफ्नो अग्रता जोगाउन सक्यो ।
तर दोस्रो हाफमा नयाँ रणनीतिका साथ मैदान उत्रिएको संकटाले बराबरी गोल गर्न सक्यो । ५१ औं मिनेटमा संकटाका ग्लोरीले गोल गर्दै १–१ को बराबरीमा पुर्याएका थिए । त्यसअघि अफ्रिकनले गोल गर्ने मौका पाए पनि चुकेको थियो ।
आहा–राराकै इतिहासमा पहिलो पटक फाइनलमा पुगेको संकटाले उपाधि नै उचाल्यो ।पहिलो पटक सहभागिता जनाएको अफ्रिकन टोलीले उपविजेताका रुपमा ५ लाख रुपैयाँ हात पारेको छ ।
आहा–रारा गोल्डकप १९ औं संस्करणसम्म आइपुग्दा नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले समान ६र५ पटक उपाधि उचालेका छन् । अर्को बलियो टोली थ्रीस्टारले ५ पटक प्रतियोगिता आफ्नो नाममा लेखाएको छ । यस्तै अफ्रिकन युनाइटेड क्लब र सहारा क्लबले समान १र१ पटक उपाधि जितेका छन् ।
८ क्लबको सहभागिता रहेको प्रतियोगिताको च्याम्पियन संकटाका गोलकिपर राजाबाबु थापा उत्कृष्ट घोषित हुँदा संकटाकै नीरज बस्नेत उत्कृष्ट डिफेन्डर भए ।
यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०७७, ०७ : २३
लेखकबाट थप