विकास गुरुयोजना बनाउँदै तमानखोला गाउँपालिका

विहीबार, १५ चैत्र २०७४, १२ : ४१
विकास गुरुयोजना बनाउँदै तमानखोला गाउँपालिका

बागलुङ । तमानखोला गाउँपालिका दीर्घकालीन विकास गुरुयोजना निर्माणमा जुटेको छ । गाउँपालिकाले विज्ञहरु राखेर गुरुयोजनाबारे प्रारम्भिक छलफल समेत गरिसकेको छ । समुदायको अगुवाईमा दिगो विकास’ लाई गुरुयोजनाको निदृष्ट लक्ष्य बनाइएको छ । गुरुयोजना निर्माणलाई छिट्टै पूर्णता दिई कार्यान्वयनमा लगिने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

गुरुयोजनाले मुख्यतः स्थानीय स्रोतसाधनको पहिचान र उपभोगलाई समेट्ने उहाँको भनाइ छ । “अहिले प्रारम्भिक चरणमा छौं, हाम्रो स्रोत र सामथ्र्य पहिचान गर्दैछौं” उहाँले भन्नुभयो ३÷४ वर्ष भित्रमा परिणाम आउने गरी काम गर्छौं । उहाँले बितेको एक वर्ष गाउँपालिकाले प्रशासनिक काममा बढी समय खर्चेको उल्लेख गर्नुभयो । ऐन, कानून नबन्नु, कर्मचारी अभाव, संघीयताको न्यून अनुभव जस्ता कारणले गाउँपालिकाले भनेजस्तो काम गर्न नसकेको उहाँको भनाइ छ ।

गाउँपालिका बनेपछि नागरिक अपेक्षा बढेको छ, अध्यक्ष बुढाले भन्नुभयो ‘छिटो विकास होस् भन्ने छ ।’ अहिलेकै पूर्वाधार, जनशक्ति र स्रोतसाधनका भरमा गाउँपालिका चलाउँदा चुनौती देखा परेको उहाँले बताउनुभयो । स्थानीय तहको विकासमा प्रदेश र केन्द्र सरकारले पनि सहयोग पु¥याउनुपर्नेमा उहाँको जोड छ । गुरुयोजनाले सबै क्षेत्रको भूमिका माग गरेको बताउँदै अध्यक्ष बुढाले मुख्य अगुवाई भने गाउँपालिकाले गर्ने बताउनुभयो ।

गाउँपालिकालाई कृषि, पर्यटन, ऊर्जा, पशुपालन, जटिबुटी आदिबाट समृद्ध गर्न सकिने उहाँको भनाइ छ । गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउन आवश्यक छ, उहाँले भन्नुभयो ‘हामीसँग प्रचुर सम्भावना छ’ उहाँले भन्नुभयो । गुरुयोजनामार्फत् काम गर्दा छिटो विकास लक्ष्यमा पुगिने गाउँपालिकाका कार्यकारी अधिकृत खिम विकले बताउनुभयो । सबै क्षेत्रका विज्ञ र अगुवाहरुसँगको छलफलबाट गुरुयोजना टुङ्गोमा पुग्ने उहाँको भनाइ छ ।

विकास गुरुयोजनालाई आधार मानेर आउँदा वर्षको बजेट तथा कार्यक्रम बन्ने अधिकृत विकले बताउनुभयो । ‘कार्यक्रम र बजेटलाई वितरणमुखी नबनाई प्राथमिकता किटान गरी काम गर्छौं’ उहाँले भन्नुभयो । बृहत् सोच र दीर्घकालीन लक्ष्य लिएर गाउँपालिकाको समग्र विकासको खाका कोरिने अधिकृत विकले बताउनुभयो । गुरुयोजना निर्माणमा ‘बनाऔं नेपाल’ नामक संस्थाले पनि प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । गाउँपालिकाको पाश्र्वचित्र (प्रोफाइल) पनि बनाउने योजना बनाइएको छ ।

सदरमुकामदेखि ३० कोस पश्चिममा अवस्थित तमानखोला गाउँपालिका तुलनात्मक रुपमा बढी विकट मानिन्छ । सबैभन्दा कम जनसंख्या भएको स्थानीय तहमा पर्ने तमानखोला गाउँपालिकामा जनजाति र दलित समुदायको बसोबास छ ।

गरिबी, अशिक्षा, पछ्यौटेपन, बेराजगारीजस्ता समस्या झेलिरहेको तमानखोला विस्तारै विकासको पथमा अघि बढ्ने सुरमा छ । सही नेतृत्व र व्यवस्थापन हुन सके स्रोतसाधनले धनी तमानखोलालाई छिट्टै समृद्ध बनाउन सकिने प्रशस्त आधारहरु छन् । (रासस)

प्रतिक्रिया दिनुहोस