बजेट छलफल अन्तिम चरणमा ,तयारी नभएका आयोजनामा बजेट नराख्न आग्रह

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, १३ : ५८
बजेट छलफल अन्तिम चरणमा ,तयारी नभएका आयोजनामा बजेट नराख्न आग्रह

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको प्रक्रिया जारी रहँदा अर्थमन्त्री, अर्थसचिव र मन्त्रालयबाट बजेट निर्माणमा खटिएको कोर टीम विभिन्न मन्त्रालयहरुसँग द्विपक्षीय छलफलमा केन्द्रित छन् । यस्तो छलफल समेत अब अन्तिम चरणमा पुगेको छ । यसक्रममा अर्थका अधिकारीहरुको चासो मन्त्रालयहरुबाट आउने नयाँ कार्यक्रमतर्फ बढी छ । कम स्रोतका बीच लोकप्रिय बजेट निर्माण गर्नुपर्ने चूनौतीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् ।

मन्त्रालयहरुसँगको प्रि बजेटमा नियमित बसिरहेका अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालका अनुसार अहिले मन्त्रालयहरुलाई नीतिगत रुपमा मार्गदर्शन गर्ने काम भइरहेको छ । तर, पुराना कार्यक्रम थाती रहेपनि नयाँ कार्यक्रम प्रस्ताव गर्ने परिपाटी भने विगतमा जस्तै अहिले पनि उस्तै देखिन्छ । ‘

सोहीकारण अर्थले मन्त्रालयहरुलाई नयाँ कार्यक्रम प्रस्ताव गर्दा समेत मोडालिटीमा स्पष्ट भएर मात्र बजेट प्रस्ताव गर्न आग्रह गरेको छ । तयारी सम्पन्न नभएका आयोजनामा बजेट नराख्न आग्रह गर्दै राख्नै परे नयाँ आयोजनाको अध्ययनका लागि मात्र बजेट प्रस्ताव गर्न समेत अर्थले विभागीय मन्त्रालयहरुलाई आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले अहिलेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाइ, खानेपानीसहितका विकासे मन्त्रालयसँग छलफल गरिसकेको छ । बजेटमा नयाँ कार्यक्रम राखी मतदाता रिझाउन सडक, विमानस्थल र शहरी विकासका धेरै योजनाको माग हुने गरेको छ ।

यसबाहेक कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग समेत अर्थ मन्त्रालयले प्रिबजेट छलफल सम्पन्न गरिसकेको छ । यसबीचमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समेत अर्थले छलफल गरिसकेको छ । सबै मन्त्रालयसँग नयाँ कार्यक्रममा लोभ नगर्न अर्थका अधिकारीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस