भारतबाट नेपाल फर्कने २४ जनाको एन्टीजेन परीक्षण पोजेटिभ

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, ०८ : १५
भारतबाट नेपाल फर्कने २४ जनाको एन्टीजेन परीक्षण पोजेटिभ

काठमाडौं । भारतबाट नेपाल भित्रिने व्यक्तिहरुको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भित्रिरहेकाहरुलाई सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा उनीहरुलाई पोजेटिभ देखिएको हो ।  

त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली सात सय र भारतीय एक सय ९७ मध्ये  छ सय २३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको छ । यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८ सय २३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ ।

दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या सातसयदेखि एक हजारको हाराहारीमा रहँदै आएको छ । भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन् । रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस