तेह्रथुम । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे– मिल्के–जलजले क्षेत्र अहिले गुराँस फुलेर राताम्मे भएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा पर्ने यो क्षेत्रमा अहिले गुराँस फुलेको हेर्न आउने पर्यटकको समेत घुइँचो लागेको छ ।
तेह्रथुमको वसन्तपुरबाट उकालो लाग्ने बित्तिकै भेटिने गुराँसे वन यतिबेला आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ छ । तीनजुरे मिल्के जलजले क्षेत्रमा हिजोआज ३८ देशका पर्यटकले भरिभराउ भएका छन् । गुराँस फुलेर ढकमक्क बन्दै गरेको तीनजुर क्षेत्रमा नेपालकै विभिन्न शहर र भारतसहित विभिन्न ३८ देशका ५ सयभन्दा बढी पर्यटकहरु घुम्नका लागि आएका हुन् । अहिले यस क्षेत्रका डाँडाकाँड गुराँसले राताम्मे बन्दै गरेको छ । मनमोहक दृश्य हेर्नको लागि पर्यटकको घुईचो लागेको छ । तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रमा पुगेका पर्यटकका लागि टेन्टको व्यवस्था गरिएको छ ।
विश्वमा पाइने ४२ प्रजातिका गुराँसमध्ये एउटै वनमा २८ प्रजातिका पाइने कारणले यो क्षेत्र गुराँसको राजधानीको रुपमा परिचित छ । फागुनदेखि यहाँका डाँडाकाँडा गुराँसले राताम्मे बन्दैछन् । यो वर्ष केही ढिला गरी गुराँस फुल्न थाले पनि तीनजुरेका डाँडापाखा गुराँसले सिँगारिँदैछन् । यहाँको सुन्दरतामा रमाउँदै उच्च पहाडी हावापानी र लेकाली जनजीवनमा रमाउन पर्यटकहरु आउने गर्दछन् । संगीत र कलाको पर्वको रुपमा ‘शक्ति पिक फेस्टिभल’ नाम दिइएको कार्यक्रमका लागि ३८ देशका कला र संगीतका पारखीहरु यहाँ आएका मादी नगरपालिका –९ का वडाध्यक्ष पासाङ शेर्पाले बताउनुभयो ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) का अनुसार टीएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पहिचान भइसकेका छन् । यस क्षेत्रमा गुराँसका अरू प्रजाति पनि भेटिने सम्भावना रहेको आईयूसीएनले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ । १ हजार ५ सयदेखि ५ हजार ५ सय मिटर उचाइमा फैलिएको यो क्षेत्र जैविक विविधताका हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण रहेको सहायक जिल्ला वन अधिकृत गोपाल भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस