दुर्लभ वन्यजन्तुको अखेटोपहार समात्‍न नक्कली ग्राहक

पत्रपत्रिकाबाट

बुधबार, ११ चैत्र २०७७, ०७ : ४६
दुर्लभ वन्यजन्तुको अखेटोपहार समात्‍न नक्कली ग्राहक

file Photo

लमजुङ । झण्डै २ साताअघि लमजुङ प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाको मोबाइलमा एउटा फोन आयो, ‘यहाँ मान्छेसँग बाघको छाला छ ।’ तर, त्यो बाघको छाला नभई चितुवाको छाला थियो ।

लमजुङको दोर्दी गाउँपालिका(६ सिमी गाउँबाट बरामद गरेको चितुवाको छालासहित पक्राउ परेको ३४ वर्षीय मनराज गुरुङ । डीएसपीले २ जना सादा पोसाकका प्रहरीलाई दोर्दी गाउँपालिका–८ ढोडेनीको सिमी गाउँ पठायो । उनीहरु गाउँ पुगे । यताउता गाउँमा बसे । बुझ्दै गए । उनीहरुले केही दिनअघि मनराजले चितुवाका छाला राखेको पक्का गरे । अनि नक्कली ग्राहक बनेर उनकोमा गए । मनराजले छाला र हड्डीको मूल्य ३५ हजार रुपैयाँमा बिक्री गर्न राजी भए ।

उनलाई लिएर झर्ने क्रममा बाटोमा प्रहरी जम्काभेट भयो । ‘हाम्रै मान्छेले मनराजलाई लिएर आउँदै थिए । उनलाई भेटेर ल्याउँदै गर्दा हाम्रा पोसाक लगाएका प्रहरीसँग भेट भयो । हामीले पक्राउ गरेर ल्यायौं,’ उनले भने ।

चितुवाका छाला र हड्डीसहित सोमबार राति ९ बजेतिर पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर डिभिजन वन कार्यालयमा बुझाएको छ । सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार प्रहरीबाट वयस्क चितुवाको सिंगो छाला र २ किलो ९० ग्रामको हड्डी प्राप्त भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस