पर्वतमा वडा सदस्यको घर जल्दा रु १५ लाखको क्षति, गर्मी बढेसँगै भाइरलका बिरामी बढे

मंगलबार, १३ चैत्र २०७४, ०९ : ३६
पर्वतमा वडा सदस्यको घर जल्दा रु १५ लाखको क्षति, गर्मी बढेसँगै भाइरलका बिरामी बढे

पर्वत । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको हो । आगालागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । एक्कासि आगो सल्किएपछि कुनै पनि सामान निकाल्न नपाएको वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिनुभयो ।

पौडेलको घरमा उहाँकी आमा विष्णुमती पौडेलले किराना पसलसमेत चलाउँदै आउनुभएको थियो । आगलागीमा परी उक्त पसलका सबै सामग्री नष्ट भएका छन् । आगलागीमा रु १५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

उक्त आगो राति अबेर प्रहरी चौकी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने हुन पाएन । आगालागीको कारण भने खुल्न सकेको छैन ।

गर्मी बढेसँगै भाइरलका बिरामी बढे
यसैबीच, गर्मीयाम शुरु भएसँगै पर्वतमा भाइरल र ज्वरोका बिरामी उच्च दरमा बढेका छन् । बदलिँदो मौसमका कारण भाइरलका बिरामी बढेको जिल्ला अस्पताल पर्वतले जानकारी दिएको छ ।
जिल्ला अस्पतालसँगै पर्वतका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो । अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत एक सातादेखि तेब्बरको संख्यामा वृद्धि भएका छन् । त्यसमध्ये अधिकांश भाइरलका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार केही समय अघिको तुलनामा यतिबेला तेब्बरको संख्यामा भाइरलका बिरामी बढेको बताइएको छ ।

भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकैघरमा चारपाँच जनाको संख्यामा उपचारका लागि आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिनुभयो । वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ ।

दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरलको प्रकोप बढेको अस्पतालका डा थापाले जानकारी दिनुभयो । यसबाट बच्न दूषित खाना र खानेपानी प्रयोग नगर्ने र कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन सुझाव दिएको डाक्टर थापाले बताउनुभयो ।

पन्ध्र श्ययाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक बेडको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । लामो समयको खडेरी र गर्मीका कारण छिटो बिरामी परिने भएकाले संख्या बढेको डा थापाले जानकारी दिनुभयो । गाउँगाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइएको छ ।

जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमा समेत भाइरलका बिरामीको संख्या बढेको जनाएका छन् । शुरुमा टाउको दुख्ने, जीउ दुख्ने, रुघा खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउ आउने र उच्च ज्वरो आएर परिक्षण गर्न आउने बिरामीको संख्या बढेको हो ।

लगातार टाउको दुख्ने, खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउँ आउने, उच्च ज्वरोलगायतका लक्षण देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न डा थापाले सुझाव दिनुभएको छ । उहाँले यस्ता संक्रमण एकजना मानिसबाट अर्काे मानिसमा सजिलै सर्ने हँुदा बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस