कालीमाटीमा अब किसानका लागि छुट्टै स्टल

पत्रपत्रिकाबाट

बुधबार, ०४ चैत्र २०७७, ०८ : ३६
कालीमाटीमा अब किसानका लागि छुट्टै स्टल

काठमाडौं । किसानले बजार नपाएको र तरकारी बजारमा बिचौलिया हावी भएको भनी गुनासो  बढिरहेको  बेला  कृषि  तथा  पशुपन्छी विकास  मन्त्रालयले  कालीमाटी  फलफूल  तथा तरकारी  बजारमा  किसानका  लागि  छुट्टै  स्टल राख्ने व्यवस्था गरेको छ ।

कृषिमन्त्री   पद्माकुमारी   अर्याल   केही दिनअघि    कालीमाटी    तरकारी    बजारको अनुगमनमा जाँदा किसानका लागि छुट्टै स्टलको व्यवस्था  गर्न  निर्देशन  दिएकी थिइन् ।  सोही निर्देशनअनुसार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति बोर्डको मङ्गलबार बसेको बैठकले  किसानका  लागि  छुट्टै  १२  वटा  स्टल राख्ने निर्णय गरेको हो। यससँगै  अब  किसानले  आफूले  उत्पादन गर्ने  तरकारी  तथा  फलफूल  लगेर  सीधै  स्टलमा राखेर  बेच्न  पाउने  छन् ।  

यसअघि  व्यपारीहरूले किसानबाट  तरकारी  खरिद  गरी  सो  बजारको स्टलबाट  बिक्री  वितरण  गर्दै  आएका  थिए। अब एउटा किसानले कम्तीमा दैनिक पाँच केजी तरकारी पोको पारेर बेच्नुपर्ने हुन्छ। एक  जना  किसानले  २०  घण्टाका  लागि  सो स्टल  प्रयोग  गर्न  पाउने  छन्।  यदि  कुनै  किसानले आफ्नो  तरकारी  बेचिसकेर  स्टल  खाली  भए अर्को  किसानले  पनि  प्रयोग  गर्न  पाउने  व्यवस्था गरिएको  समितिका  अध्यक्षसमेत  रहेका  कृषि मन्त्रालयका  प्रवक्ता  श्रीराम  घिमिरेले  बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस