पार्टी एकता सम्मानजनक र समानताका आधारमा हुन्छ : अध्यक्ष दाहाल

सोमबार, १२ चैत्र २०७४, २० : २६
पार्टी एकता सम्मानजनक र समानताका आधारमा हुन्छ  : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेकपा(एमाले) र आफ्नो पार्टीबीच समानताका आधारमा सम्मानजनक एकता हुने बताउनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “दुईवटा राजनीतिक विचार र कार्यदिशा भएका राजनीतिक पार्टीबीचको एकता हुने भएकाले सम्मानजनक र समानताका आधारमा हुन्छ र यो एकता प्रक्रियाले छिट्टै निष्कर्ष पाउँछ ।”
अध्यक्ष दाहालले पार्टी एकताको सन्दर्भमा विचार र राजनीतिको विषयमा सहमति भइसकेको तथा छिट्टै नै संगठनका सन्दर्भमा पनि सहमति हुने बताउँदै पार्टी एकता संयोजन समितिले गठन गरेका दुई वटा कार्यदलले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ भन्नुभयो ।
केही दिनभित्रै सम्पूर्ण खाका तयार हुने उल्लेख गर्दै उहाँले नेपाली जनतालाई नयाँ विश्वास पैदा गर्न एकताको अभियान शुरु गरिएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा एमाले र माओवादी केन्द्रको फरकफरक र महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै फरकफरक राजनीतिक धार र चिन्तनबाट स्थापित दुई पार्टीबीचमा एकता हुन लागेको हुँदा दुबै पार्टीको चिन्तनलाई समानजनक स्थान दिनुइनुपर्ने बताउनुभयो ।
एकता प्रक्रियालाई शीघ्र निष्कर्षमा पु¥याउने भन्ने धारणा एमाले र माओवादी केन्द्रका नेताहरुबाट सार्वजनिक भइरहेको प्रसंग जोड्दै उहाँले भन्नुभयो, “एकता छिट्टै हुन्छ, त्यसमा कुनै दुविधा राख्नु पर्दैन तर सबै राजनीतिक सांगठिनक विषय त मिलाउनु आवश्यक छ र रहन्छ पनि ।”
अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनमा समेत दुई पार्टीबीचको एकता प्रक्रियाले सकारात्मक प्रभाव पार्ने बताउँदै नेपालको मौलिकता र विशिष्ठताका आधारमा आर्थिक समृद्धिको अभियान अगाडि बढ्ने भएकाले सोहीअनुसारको योजना, कार्यक्रम, नीति ल्याइने धारणा व्यक्त गर्नुभयो ।
मुलुकमा राजनीतिक स्थायित्व प्राप्त भएकाले नेपाली जनताको भावनाअनुसार अब आर्थिक समृद्धिको अभियानलाई सफल पार्न युवा विद्यार्थीले विशेष योगदान गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
आइतबारदेखि शुरु भएको अखिल (क्रान्तिकारी)को प्रशिक्षणलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत नेताहरुले प्रशिक्षण दिनुभएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस