पशु स्वास्थ्य शिविरसँगै क्षयरोग जनचेतना कार्यक्रम

सोमबार, १२ चैत्र २०७४, १७ : ३१
पशु स्वास्थ्य शिविरसँगै क्षयरोग जनचेतना कार्यक्रम

चितवन । नारायणगढ रोटरी क्लब, रोटर्याक्ट क्लब अफ नारायणगढ र इन्टरनेशनल भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन नेपालको संयुक्त आयोजनामा कालिका नगरपालिका–२, पदमपुरमा आज सोमबार निःशुल्क पशु स्वास्थ्य शिविर तथा क्षयरोग जनचेतना कार्यक्रम सम्पन्न भएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२, जोन २० का एसिस्टेन्ट गभर्नर राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रम क्लबका अध्यक्ष नारायण प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा कुकुर, राँगा, भैँसी, बाख्रा, खसी, बोका गरी ५ सय ९० वटा चौपायाको गोबर परीक्षण, रेबिज भ्याक्सिन, भिडियो एक्सरेका साथै अपरेशन समेत गरिएको थियो । कार्यक्रममा डाक्टरहरू रेवन्तकुमार भट्टराई, गोकर्ण गौतम, श्यामबहादुर राउत, यज्ञराज पाण्डे, शत्रुघन शाह, बब्लु ठाकुर, युवराज पन्त, विष्णुहरि शर्माको टिम लगायत जापान र स्पेनबाट आएका विशेषज्ञहरू गरी ६० जनाको प्राविधिक टोलीले चौपायाको स्वास्थ्य परीक्षण गरेको थियो । जिल्लामा यति धेरैे पशु चिकित्सकको सहभागितामा भएको पशु स्वास्थ्य शिविर सम्भवत यो पहिलो भएको क्लबका अध्यक्ष नारायण प्रधानले बताउनु भयो ।

क्लबका पूर्वअध्यक्ष रमेश श्रेष्ठ तथा रोटर्याक्टर रञ्जिता बास्तोलाले संयोजन गर्नुभएको निःशुल्क स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण कार्यक्रममा पाँच लाख पच्चीस हजार रुपैयाँ खर्च भएको आयोजकको भनाइ छ । पदमपुर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, पदमपुर सह–आयोजक रहेको उक्त कार्यक्रममा भेटेरिनरी शिक्षण अस्पताल, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस