बयलगाडा लोप हुने अवस्थामा

पत्रपत्रिकाबाट

मंगलबार, २५ फागुन २०७७, ०७ : ४१
बयलगाडा लोप हुने अवस्थामा

सप्तरी । सवारी साधन जस्तोसुकै भए पनि सबैको आफ्नै खालको महत्व र विशेषता रहेको पाइन्छ । परापूर्वकालदेखि निर्विकल्प रूपमा रहेको एक मात्र सवारी साधन बयलगाडा (गोरुगाडा) लाई आधुनिक सवारी साधनले पछाडि पारिए पनि बयलगाडाको निकै महत्व रहेको छ ।  सुरक्षित, आरामदायी एवं भरपर्दो यात्राका लागि बयलगाडा उपयुक्त रहेको बूढापाकाहरू बताउँछन् ।

यात्रासँगै मालसामान ढुवानीमा पनि महत्वपूर्ण सवारीका रूपमा रहेको ८० वर्षीय वृद्ध सीताबीप्रसाद साहले भने, “हाम्रो परिवार, गाउँसमाज, छरछिमेक तथा नातेदार एवं कुटुम्बहरूको विवाहको मुख्य सवारी बयलगाडा नै हुन्थ्यो। त्यतिबेला विवाहमा जतिवटा बयलगाडा लगिन्थ्यो, त्यति नै जन्ती (बेहुला पक्ष)को सान उच्च हुन्थ्यो,” उनले भने, “समाजका प्रत्येक घरमा कम्तीमा एउटा बयलगाडा हुन्थ्यो। अहिले सिङ्गो गाउँमा एक÷दुईवटा बयलगाडा होला ।”

काठ र बाँसले बनाइएको बयलगाडा बैल (गोरु) को गतिअनुसार चल्ने गर्दा ढिलो पुगिने गरेको हुँदा दुर्घटना नहुने, विरलै दुर्घटना भए पनि मानवीय क्षति नहुने, गम्भीर घाइते नहुने, बाटोमा बिग्रिँदै नबिग्रिने, इन्धन पनि खर्च नहुने, जस्तोसुकै बाटोमा गुडाउन सकिने विशेषता रहेको अर्का वृद्ध रामप्रसाद चौधरीले बताए ।  धुलो, माटो, हिलो, खेत, नदी नाला, हाट बजार, गल्लीसम्म सहज रूपमा पुगिने गरेको बयलगाडा घाम, वर्षा वा खुला रूपमा सवार भएर जाने गरेको थियो। 

विवाहमा दुलही ल्याउँदा गाडामा पालकी (स्थानीय भाषामा ओहार)मा राखेर बसाउने गरिन्थ्यो। बयलगाडामा बयलगाडा ठोकिएको, अनियन्त्रित भएर दुर्घटना भएको र दुर्घटनामा कसैको मृत्यु भएको खबर सुन्न नपाएको वृद्धा करयाहीदेवी खङ्गले बताइन् ।  यसले बयलगाडामा सवार भएर जाने परिवारमा दुर्घटना हुने चिन्ता नै थिएन, उनले भनिन्– चिन्ता एउटा कुराको मात्र हुन्थ्यो, सूर्य अस्ताउनुभन्दा पूर्व गन्तव्यमा पुग्ने।

त्यतिबेला बयलगाडा सवारीका लागि मात्र प्रसिद्ध साधन थिएन, परिवारको गर्जो टार्ने मुख्य आयस्रोत साधनका रूपमा रहेको अर्का वृद्ध कारी यादवले भने, बयलगाडा जोतेर (भाडामा चलाएर) घर खर्च चलाउनुका साथै आर्जन गरिन्थ्यो। सप्तरीको राजविराज सहर पूर्व घना जङ्गल रहेको स्मरण गरे । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस