सुरेन्द्र पाण्डेको पहलमा व्यवसायिक किसानहरुसंग छलफल

मंगलबार, १२ मंसिर २०७४, १४ : ४१
सुरेन्द्र पाण्डेको पहलमा  व्यवसायिक किसानहरुसंग छलफल

 चितवन, १२ मंसिर । भारतको प्रख्यात दुग्ध उत्पादक ब्राण्ड अमुलले नेपालमा उन्नत गाई पालन गरेर दुध उत्पादन गर्न सकिने विषयमा अध्ययन सुरु गरेको छ । व्यवसायिक रुपमा दुग्ध उत्पादन गरी त्यसलाई राम्रो आय आर्जन गर्न सकिने भन्दै धेरै दुध दिने जातको गाइ पालनको लागि कसरी सहयोग गर्न सकिने भन्ने बारेमा छलफल गरेको छ । चितवनको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको पहलमा नेपाल आएका प्रतिनिधिले पूर्वी चितवनको रत्ननगरमा व्यवसायिक किसानहरुसंग छलफल गरेको हो ।

निर्वाहमुखी पशु पालनले व्यवसायिकता लिन नसक्ने भन्दै प्रसस्त आम्दानी गर्न सकिने पशु पालन गर्नु पर्ने विषयमा छलफल भएको हो । गाइ पालनका लागि चितवन जिल्ला उर्वर भूमि भएकाले यहाँका किसानलाई एक दिनमा ६० लिटर सम्म दुध दिने गाई पाल्न सकिने विषयमा अध्ययन थालेको हो । अमुल ब्राण्ड साउथ एसीया फाउण्डेशनका सचिव राहुल वरुणाले उन्नत गाई पालन गर्न किसान तयार भए त्यसको लागि सहयोग गर्न सकिने बताउनु भयो । दैनिक १० देखि २० लिटर दुध दिने गाई होइन अब ६० लिटर दुध दिने गाई पाल्न सकिन्छ ।

धेरै दुध पाल्ने र दुध प्रशोधन गरी विभिन्न परिकारहरु बजारमा लान सकिने उनले बताए । त्यसको लागि यहाँको सरकारी निकाय, दुग्ध सहकारीहरु, व्यवसायिक पशु पालन किसानहरु संगको छलफल पछि एउटा नीति लिन सकिने बताए । स्थायी सरकार भएमा काम गर्न सकिने बताउनु भयो ।

छलफल कार्यक्रममा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले अब निर्वाह मुखि पेशाबाट व्यवसायिक कर्म गर्नु पर्ने बताउनु भयो । चितवन कृषिको लागि उपयुक्त स्थान भएकाले अहिले सञ्चालन भइरहेका पशु पालनलाई माथि उकासेर व्यवसायिक गर्नु आवश्यक छ । त्यसको लागि स्थायी सरकारले काम गर्न सक्दछ । देश र जनताको पक्षमा रहेर सहयोग गर्ने भए यहाँको किसानको जीवन स्तर माथि उकास्नको लागि आफ्नो पहल कदमी हुने जानकारी दिनु भयो ।

छलफलमा सचिव वरुणाले मिलेर काम गर्न तयार भएको भन्दै मिल प्रोसेसिङ्गको लागि आफ्नो ग्यारेन्टी भएको बताउनु भयो । छलफलमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्रवहादुर खड्का, किसान भागिरथ तिमल्सिना, आनन्द न्यूरे लगायतले सकरात्मक कामको लागि सहयोग गर्ने बताउनु भयो । भारतीय टोली नेता पाण्डेको पहलमा उन्नत गाई पालनको विषयमा अध्ययन गरी लगानी गर्न चितवन आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस