अनुमतिपत्रविना ट्याम्पु र इरिक्सा चल्दा जोखिम बढ्दै

रासस

बुधबार, १९ फागुन २०७७, १२ : ४१
अनुमतिपत्रविना ट्याम्पु र इरिक्सा चल्दा जोखिम बढ्दै

वीरगञ्ज । पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । यहाँ चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी इरिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारी साधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ । 

जिल्लाको प्रमुख बजार वीरगञ्ज, पोखरियालगायत शहरहरूमा चल्ने इरिक्सा र अटोरिक्साका चालकसँग सवारी साधन अनुमतिपत्र हुने गरेको छैन । बजार गर्न आउने सर्वसाधारणका लागि पहिलो रोजाइ बनेका यस्ता सवारी साधनको चालकसँग भने सवारी चालक अनुमतिपत्र नभएका कारण जोखिम बढ्दै गएको हो ।

जहाँ भन्यो त्यही पु¥याउने, खोजेको बेला पाउने र ठेलमठेल यात्रा गर्नु नपरेकाले इरिक्सा र अटोरिक्सा सर्वसाधारणको पहिलो रोजाइमा परे पनि सहजै सवारी चालक अनुमतिपत्र लिन नसकिने भएकाले चालकहरू जोखिम मोलेरै यस्ता सवारी साधन चलाउन बाध्य भएको देखिन्छन् ।

ट्याम्पु र इरिक्सालाई एउटै दर्जामा राखेर यातायात व्यवस्था कार्यालय ९सवारी चालक अनुमतिपत्र वीरगञ्जले पटकपटक फारम खुलाएर सी—क्याटगोरीको चालक अनुमतिपत्र वितरण गर्ने गरेको सो कार्यालयका अधिकृत रामअयोध्या रामले बताए ।

पर्सामा गुड्ने अधिकांश इरिक्सा र ट्याम्पु चालकसँग भने सवारी चालक अनुमतिपत्र छैन । वीरगञ्ज पोखरीया रोडमा चल्ने ट्याम्पु चालक दिल प्रसादले आफूसँग सवारी चालक अनुमतिपत्र नभएको बताए । सो रुटमा करीब २०० ट्याम्पु चालकमध्ये मुस्किलले १०—१५ जनासँग मात्र सवारी चालक अनुमतिपत्र भएको अर्का ट्याम्पु चालक शङ्कर गोसाईंको भनाइ छ ।

सवारी चालक अनुमतिपत्रका लागि पटकपटक धाउँदासमेत सहजै पाउन मुस्किल रहेको र कार्यालय वरिपरि रहेको दलालहरूले रु २५ हजारसम्म माग्ने गरेका कारण आफूले विना अनुमतिपत्र ट्याम्पु चलाउँदै आएको अधिकांश चालकहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस